बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक सवारी चलाउन रोक


काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहेकाले विपद् जोखिम बढ्न सक्ने भन्दै सिन्धुलीको खुर्कोटबाट काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनलाई रातको समयमा सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले हिजाे एक सूचना प्रकाशित गर्दै बीपी राजमार्गको खुर्कोट–काठमाडौँ खण्डमा साँझ ६ः३० बजे देखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालन गर्न १५ दिनसम्मका लागि निषेध गरिएको जानकारी दिएको हो।

काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायहरूको हिजाे बसेको संयुक्त सुरक्षा बैठकको निर्णय अनुसार यो निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

सूचनामा यात्रु तथा सवारी सुरक्षाका लागि सतर्कता अपनाउन आग्रह गर्दै वर्षाका कारण कुनै पनि समयमा विपद्को अवस्था सिर्जना हुन सक्ने सम्भावनालाई ध्यान दिइएको उल्लेख छ।