काठमाडौं । ओखलढुङ्गा जिल्लाका बासिन्दाहरूको आयु औसत नेपालीको भन्दा धेरै भएको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा हालै सार्वजनिक नेपालमा मृत्युदरसम्बन्धी प्रतिवेदनअनुसार त्यहाँको जन्ममा अपेक्षित आयु (जीवनप्रत्यासा) ७५.६ वर्ष छ ।
यो नेपालमै सर्वाधिक हो । प्रतिवेदनअनुसार जन्मदाको अवस्थामा पुरुष तथा महिलाको संयुक्त जीवनप्रत्याशा नेपालको हकमा ७१.४ वर्ष रहेको छ । महिलाको हकमा यो मान ७४.३ वर्ष छ भने पुरुषतर्फ यो मान ६८.७ वर्ष रहेको छ । वि.सं. २०६८ मा नेपालीको संयुक्त जीवनप्रत्याशा ६६.६ वर्ष मात्र थियो ।
राष्ट्रिय जनगणना-२०७८ का आधारमा तयार प्रतिवेदनले दोस्रो अधिक जन्ममा अपेक्षित आयु भएको जिल्ला हुम्ला रहेको आश्चर्यजनक तथ्य देखाएको छ जहाँको औसत आयु ७५.३ वर्ष छ ।
यसैगरि रामेछाप दार्चुला र रुकुम पश्चिमको जन्ममा अपेक्षित आयु पनि ७५.३ वर्ष रहेको प्रतिवदेनमा उल्लेख छ ।
शीर्ष १० जन्ममा अपेक्षित आयु भएका अन्य जिल्लाहरूमा गोर्खामा ७५.१ वर्ष, खोटाङमा ७४.५ वर्ष, मुस्ताङमा ७४.३ वर्ष, दैलेखमा ७४.३ वर्ष, बैतडीमा ७४.२ वर्ष, डडेलधुरामा ७४.२ वर्ष, दोलखामा ७४.१ वर्ष, रसुवामा ७३.८ वर्ष, रुकुम-पूर्वमा ७३.८ वर्ष, लमजुङमा ७३.७ वर्ष र जाजरकोटमा ७३.७ वर्ष रहेको छ ।
जन्ममा अपेक्षित आयुका हिसाबले पाँचथर सबैभन्दा पुछार अर्थात् ७७ औं स्थानमा छ । त्यहाँको औसत आयु ६७ वर्षमात्र छ ।
अन्य कम जन्ममा अपेक्षित आयु भएका जिल्लाहरूमा बाँकेमा ६७.४ वर्ष, मनाङमा ६७.८ वर्ष, कपिलवस्तुमा ६७.९ वर्ष, रुपन्देहीमा ६८.९ वर्ष, मोरङमा ६९.० वर्ष, कैलालीमा ६९.२ वर्ष, सुनसरीमा ६९.४ वर्ष, धनकुटामा ६९.४ वर्ष, तेह्रथुममा ६९.५ वर्ष, नवलपरासी-पश्चिममा ६९.६ वर्ष र धनुषामा ६९.७ वर्ष औसत आयु पाइएको छ ।

प्रदेशगत रुपमा हेर्दा बागमती (७२.८), कर्णाली (७२.४) र गण्डकी (७२.३) को जन्मदाको अवस्थामा मानिसहरूको जन्ममा अपेक्षित आयुमा निकै नै समानता देखिन्छ । मधेसमा यो ७१.९ वर्ष छ भने सुदूरपश्चिममा ७१.३ वर्ष रहेको छ । लुम्बिनीमा जन्ममा अपेक्षित आयु सबैभन्दा कम अर्थात् ६९.७ वर्ष मात्र छ भने कोशी प्रदेश छैठौँ (७०.७ वर्ष) क्रममा रहेको छ ।
जन्मदाको अवस्थामा मानिसहरूको औसत आयु हेर्दा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका बासिन्दाको आयु १ वर्ष बढी पाइएको छ ।
ग्रामीण क्षेत्रमा जन्ममा औसत आयु ७२.२ वर्ष रहेको छ भने शहरी क्षेत्रमा औसत आयु ७१.४ वर्ष रहेको छ । अर्ध-शहरी क्षेत्रमा जन्ममा औसत आयु ७०.९ वर्ष रहेको छ, जुन सबैभन्दा कम हो ।
जातजातिगत औसत आयु
प्रतिवेदनअनुसार पहाडी जातजातिको जन्ममा अपेक्षित आयु ७४.३ वर्ष हुँदा मधेश/तराईका समान जातीय समूहको अपेक्षित आयु ७२.४ वर्ष छ ।
यस्तै पहाडी/हिमाली जनजातिहरूको अपेक्षित आयु ७१.२ वर्ष हुँदा तराईका जनजाति समूहहरूको आयु ७०.६ वर्ष छ ।
यसैगरि पहाडी दलितहरूको अपेक्षित आयु ६७.३ वर्षमात्र रहँदा मधेशी/तराईका दलितहरूको आयु थोरै बढी ६८.८ वर्ष रहेको प्रतिवेदनमा छ।
प्रतिक्रिया दिनुहोस्