काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट मुलुकको १६ औं पञ्चवर्षीय योजनासँग मेल नखाने आरोप लगाएका छन् ।
शनिबार प्रतिनिधिसभामा विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मूल उद्देश्य बनाएको १६ औं योजनालाई बजेटले न त मार्गदर्शन गरेको छ, न त त्यस अनुरूप स्पष्ट योजना अघि सारेको टिप्पणी गरेका हुन् ।
उनले भने,”१६ औं योजनाले तीन वटा मूल उद्देश्य राखेको छ । सुशासनको प्रत्याभूति, सामाजिक न्यायको स्थापना र समृद्धिको सुनिश्चितता। तर, प्रस्तुत बजेटमा यी तीनै आधारभूत सोचलाई सम्बोधन गर्ने स्पष्ट रणनीति देखिँदैन।”
सांसद सापकोटाले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ को विवादित बक्यौता रकम उठाउनेबारे समेत सरकारले स्पष्ट योजना नबनाएको आरोप लगाए । उनले यस्तो रकम असुली नगर्दा राष्ट्रप्रति गम्भीर घात पुग्ने चेतावनी दिए ।
त्यसैगरी, बजेटमा समावेश गरिएको ‘टेक एण्ड पे’ प्रणालीले ऊर्जा क्षेत्रलाई थप संकटमा पार्ने भन्दै त्यसबाट सरकारले पछि हट्नुपर्ने माग सांसद सापकोटाले गरे ।
सरकारले विरोधमा रहेका सांसदहरूको आवाज सुन्नुको सट्टा संसदलाई बलपूर्वक सञ्चालन गर्न खोजेको भन्दै उनले त्यसप्रति पनि आपत्ति जनाए ।
बजेटमा सुशासन, सामाजिक न्याय र समृद्धिको सन्दर्भमा स्पष्ट दृष्टिकोण र कार्यदिशा नदेखिएकाले सांसद सापकोटाले बजेटमा संशोधनसहित पुनरावलोकन आवश्यक रहेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्