नेपाल–भारत मैत्री समाजद्वारा योग, प्राणायाम र ध्यान शिविर सम्पन्न


काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा काठमाडौंको थापाथलीस्थित रोटरी क्लब हलमा योग, प्राणायाम र ध्यान शिविर सम्पन्न भएको छ । नेपाल–भारत मैत्री समाजले जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शिविर सञ्चालन गरेकाे थियाे ।

उक्त कार्यक्रममा योगाचार्य स्वामी श्री ध्रुवज्ले सहभागीहरूलाई योग, प्राणायाम र ध्यानका अभ्यास गराएका थिए । करिब ९० मिनेट चलेको यस कार्यक्रममा शिक्षक, चिकित्सक, सञ्चारकर्मी, युवा, वृद्ध, महिला–पुरुषलगायत विविध क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको बताए ।

योगाचार्य स्वामी श्री ध्रुवज्ले योगलाई शारीरिक मात्र नभई मानसिक र आत्मिक रूपान्तरणको अभ्यासको रूपमा व्याख्या गर्दै भने, “योग केवल व्यायाम होइन, यो आत्म-अनुशासन, सन्तुलन र चेतनाको मार्ग हो। ध्यान र प्राणायामले मानसिक तनाव घटाउने र जीवनमा आन्तरिक सन्तुलन ल्याउने काम गर्छ।”

वरिष्ठ आयुर्वेद चिकित्सक डा. गौरीशंकर लाल दासले योग र आयुर्वेदलाई पूरक अभ्यासका रूपमा जोड दिए। उनले भने, “योगले मानसिक आरोग्य, तनाव व्यवस्थापन र जीवनशैली सुधारमा महत्वपूर्ण प्रभाव पार्दछ। यस्ता कार्यक्रमहरूले स्वस्थ समाज निर्माणमा सहयोग पुर्‍याउँछन्।”

नेपाल–भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले यस्तो कार्यक्रमहरूले दुई देशबीच सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले भने, “योग मानव सभ्यताको अमूल्य सम्पदा हो। यस्ता कार्यक्रमले नेपाल–भारत मैत्रीलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै जनस्वास्थ्य र सचेतनामा समेत योगदान पु¥याउछन् ।”

कार्यक्रममा भारतीय दूतावासका शिक्षा शाखा प्रमुख अजय कुमार सिंह र भारतीय पुस्तकालयका प्रतिनिधि परितोष पनि उपस्थित थिए। उनीहरूले नेपालमा योगप्रति देखिएको उत्साह र सहभागितालाई सकारात्मक रूपमा मूल्यांकन गरेका छन् ।

सन् २०१५ देखि विश्वभर यसलाई मनाउने प्रचलन सुरु भएको हो। सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अनुसार संयुक्त राष्ट्रसंघ महासभाले जून २१ लाई “अन्तर्राष्ट्रिय योग दिवस” का रूपमा घोषणा गरेको थियो। यस दिवसको मूल उद्देश्य योगमार्फत शारीरिक र मानसिक स्वास्थ्य सुदृढ पार्नुका साथै जीवनमा सन्तुलन र चेतनाको विकास गर्नु रहेको छ।

उक्त कार्यक्रममा करिब दुई सयजना सहभागीहरू उपस्थित थिए। कार्यक्रम शान्त, सरल र ऊर्जावान वातावरणमा सम्पन्न भएको थियो भने सहभागीहरूले योगमार्फत मानसिक शान्ति र ऊर्जा प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।