उर्जामा टेक एण्ड पेको अवधारणालाई समीक्षा गरेर सच्याउनुपर्छः सांसद कार्की


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकास मोडलको बारेमा एक पटक छलफल गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उनले कम अवधिमा कसरी छिमेकी देशहरूले तिब्र रूपले विकासलाई अघि बढाए र नेपालले त्यसबाट सिकेर कसरी अघि बढ्ने भन्नेबारेमा अध्ययन गर्न जरुरी रहेको बताएका हुन् । मुलुकमा जलश्रोतको क्षेत्रमा भइरहेको विकास र उत्साहलाई निरन्तरता दिन जरुरी रहेको बताए । उर्जा क्षेत्रको प्रवर्धन र विकासले नै भारतसँगको व्यापार घाटालाई हटाउन सकिने जिकिर गरे ।

“हाम्रो विकास मोडलको बारेमा एक पटक छलफल गर्न जरुरी छ । कसरी छिटो अवधिमा हाम्रा छिमेकी देशहरुले तिब्रतर रुपले विकासलाई अघि बढाइरहेका छन् । त्यसबारेमा गहन अध्ययन हुनु जरुरी छ । अहिले हाम्रो मुलुकमा जलश्रोतको क्षेत्रमा जुन विकास भइरहेको छ, जुन उत्साह देखिएको छ, यो उत्साहलाई निरन्तरता दिनसक्यो भने भोलिका दिनमा, अब आउने केही वर्षपछि हामीले पूर्वाधारका निमित्त हाम्रो भारतसँग जति व्यापार घाटा छ, त्यो व्यापार घाटालाई कम गरेर हाम्रो विकास निर्माणमा, पूर्वाधारमा त्यसलाई खर्च गर्ने अवस्थामा हामी पुग्नसक्छौँ,” उनले भने ।

सांसद कार्कीले उर्जामा टेक एण्ड पेको अवधारणालाई समीक्षा गरेर सच्याउनुपर्ने बताए ।