कृषि क्षेत्रको समग्र विकास बिना राष्ट्रिय समृद्धि सम्भव नरहेको मन्त्री अधिकारकाे दाबी


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको समग्र विकास विना राष्ट्रिय समृद्धि सम्भव नरहेको बताएका छन् ।

उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको स्थापना कार्यशालालाई आज सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रले विगतदेखि नै राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारी सिर्जना र गरिबी निवारणमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गरेका हुन् ।

“देशको कुल गार्हस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान दिने कृषि क्षेत्रको दिगो र समावेशी विकासमार्फत मात्रै समृद्ध नेपालको लक्ष्य पुरा हुन सक्छ,” मन्त्री अधिकारीले भने, “यस कार्यक्रमले त्यही उद्देश्यमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।”

मन्त्रीका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० पालिकामा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमले कृषि पारिस्थितिकी र उत्थानशील खेती प्रणालीको प्रवर्द्धन गर्दै उच्च मूल्यका कृषि उत्पादनको बजारीकरणमार्फत साना किसानको आम्दानी बढाउने र गरिबी घटाउने लक्ष्य लिएको छ।

उनले परम्परागत खेती प्रणालीबाट उत्पादन हुने बालीहरूको व्यवसायीकरण गरी मूल्य श्रृंखला विकास गरेर निर्यात प्रवर्द्धन गर्न सके कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन सकिने धारणा पनि राखे ।

नेपाल सरकार र इन्टरनेसनल फन्ड फर एग्रीकल्चर डेप्लाेमेन्ट बिचको सम्झौता अनुसार लागू भएको आठ वर्षे कार्यक्रमले नाफामूलक, समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीलाई प्रवर्धन गर्दै युवा, महिला, जनजाति तथा आदिवासी समुदायको सशक्तिकरण गर्ने लक्ष्य लिएको छ।

सोही अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण गरिने जानकारी दिए । उनका अनुसार यस बजारमा देशभरका साना कृषि बजारहरूलाई आबद्ध गर्दै उच्च मूल्य कृषिवस्तुको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय निर्यात प्रवर्धन गर्ने सम्भावना पनि रहेको छ।