काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ स्थित विनायक अस्पताल नजिकैको सडक खण्डबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई आइतबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–३, चोगते घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २९ वर्षीय कुमार लामा रहेका छन्।
ट्राफिक प्रहरीका अनुसार लामा वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०५० प १९०० भएको मोटरसाइकलको नम्बर जालसाजी गर्दै बागमती प्रदेश ०२–०४९ प २४६८ राखेर प्रयोग गरिरहेको अवस्थामा फेला परेका थिए। उनी चढिरहेको मोटरसाइकल केही समयअघि काठमाडौं महानगरपालिका–६, कपन भृकुटीचोकबाट हराएको भनी रामेछापको उमाकुण्ड गाउँपालिका–१ का छेवाङ शेर्पाले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
संकेतित निवेदनका आधारमा अनुसन्धान अगाडि बढाउँदै गएको ट्राफिक प्रहरीले मोटरसाइकलसहित कुमार लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा बुझाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।
प्रहरी उपरीक्षक गिरीले मोटरसाइकल चोरीका घटनाहरू नियन्त्रण गर्न खोजतलास र निगरानी निरन्तर जारी रहेको बताउँदै सवारी धनीहरूलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्क गर्न, ह्विल लक, ह्यान्डल लक, चेन लक, डिस्क लक तथा सुरक्षा साइरन जडानजस्ता उपाय अवलम्बन गर्न आग्रह गरेका छन्। साथै, सार्वजनिक गहना स्थलहरू वा मानिसको आवतजावत कम हुने एकान्त स्थानहरूमा सवारी साधन नछोड्न समेत उनले अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्