देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टासम्म देशभर मौसम बदली रहने र विभिन्न भू-भागहरूमा हल्का देखि मध्यम वर्षा हुने जनाउँदै केही स्थानहरूमा भारी वर्षाको चेतावनी दिएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेष गरी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा भने भारी वर्षा हुने सम्भावना उल्लेख गरिएको छ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ, जसले ती क्षेत्रका यात्रा तथा जनजीवनमा असर पुर्याउने सम्भावना रहन्छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था कायम रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै, तीव्र मौसमी प्रणालीको प्रभावस्वरूप कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना पनि रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागमा रातको समयमा पनि हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेकोले ती क्षेत्रमा आवागमन र गतिविधिमा सतर्कता अपनाउन सुझाव दिइएको छ।

यसरी मौसममा व्यापक परिवर्तन देखिएको हुँदा सम्भावित बाढी, पहिरो र सडक अबरुद्धजस्ता जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सम्बन्धित निकाय र आम नागरिकलाई मौसम पूर्वानुमान महाशाखाले सचेत रहन अनुरोध गरेको छ।