सुर्खेत प्रदेश अस्पतालमा २५ लाखभन्दा बढी रकम हिनामिना प्रकरणमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा


काठमाडौँ । सुर्खेतस्थित प्रदेश अस्पतालमा सरकारी राजस्व रकम हिनामिना गरेको आरोपमा लेखा अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, प्रदेश अस्पताल सुर्खेतमा कार्यरत लेखा अधिकृत (छैटौं तह) शंकर प्रसाद सुवेदी, सामाजिक सेवा एकाइ कार्यक्रमअन्तर्गत करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही, र कुमारी बैंकको एक्सटेन्सन काउन्टर सुर्खेतकी तत्कालीन प्रमुख गोमा सिजाली मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आरोपपत्र दायर गरिएको हो।

अनुसन्धानका क्रममा तृप्ती शाहीले स्वास्थ्य बिमा शाखाको नाम दर्ता काउन्टरको जिम्मेवारी पाएकोमा अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी बिलिङ कार्यसमेत गर्दै आएको पाइएको छ।

उक्त बिलिङबाट उठेको रकममध्ये अस्पतालको खातामा जम्मा गर्नुपर्ने कुल रु. ३४ लाख ३ हजार ८५६ रुपैयाँ ५० पैसामध्ये रु। ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्र जम्मा गरिएको देखिएको छ। बाँकी रु. २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा रकम हिनामिना गरी अस्पतालको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याइएको आयोगको दाबी छ।

आयोगका अनुसार ती तीन प्रतिवादीले आपसी मिलोमतोमा सार्वजनिक संस्थाको सम्पत्ति दुरुपयोग गर्ने मनसायले सो कार्य गरेका हुन्। तिनै कारण उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कारबाही मागदाबी गर्दै विशेष अदालतमा आज आरोपपत्र पेश गरिएको हो।

आयोगले सो प्रकरणमा संलग्नलाई कानूनी दायरामा ल्याई सार्वजनिक सम्पत्तिको संरक्षण गर्नका लागि यथोचित कारबाही अघि बढाउने बताएको छ।