आवश्यकता बढी र स्रोतसाधनको कमीका कारण बजेटमा सबैको चित्त बुझ्न सकेनः पूर्वअर्थमन्त्री महत


काठमाडाैँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आवश्यकता बढी र स्रोतसाधनको कमीले गर्दा बजेटमा सबैको चित्त बुझ्न नसकेको बताएका छन्। 

सोमवार सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आवश्यकताहरू बढी हुने र सोही अनुरूपको स्रोत र साधन नहुँदा बजेटमा सबैको चित्त नबुझ्ने जिकिर गरेका हुन् ।

उनले बजेट प्रस्तुत गर्दा स्रोत तथा साधनको प्राथमिकीकरणको आधारमा हुनुपर्ने बताए । उनले सरकारले कुनै ठाउँ बढी र कुनै ठाउँ कम बजेट विनियोजन गर्नुको आधार दिनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका डा. महतले कुन–कुन कारणले बजेट राख्न सकिएन ? भन्ने प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए ।

उनले बजेटमाथिको छलफलपछि संशोधन गर्ने परम्परा अहिलेसम्म नरहेको जिकिर गरे । उनले आउने दिनहरूमा बजेट निर्माणको प्रक्रियामा महत्वपूर्ण सुधार गर्नुपर्ने धारणा राखे । उनले बजेट निर्माणको क्रममा सरकारले सांसदहरूको कुरा नसुनेको भन्नु गलत भएको बताए ।