सायम कलेजको आयोजनामा भोलिदेखि अन्तरकलेज फुटसल प्रतियोगिता हुँदै, २८ टिमको सहभागिता


काठमाडाैँ । भक्तपुरको रोयल नेपाल फुटसल मैदानमा भोलिदेखि सुरू हुने भएको ‘हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता’मा कूल २८ वटा कलेज टिमले सहभागिता जनाउने भएका छन्। सायम कलेजको आयोजनामा हुन लागेको यस प्रतियोगितालाई विद्यार्थीको नेतृत्व, खेलकौशल र प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिसँगै आपसी सहकार्य र मित्रता विकासको अवसरका रूपमा हेरिएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनले सायम कलेजले अध्ययनसँगै सह-पाठ्य गतिविधिमा पनि विशेष जोड दिँदै आएको उल्लेख गर्दै विद्यार्थीको चहुंमुखी विकासमा यस्ता आयोजनाहरू प्रभावकारी रहेको बताए।

प्रतियोगितामा सहभागी टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ र खेलहरू लिग चरणपछि नकआउट चरणमार्फत अघि बढ्नेछन्। प्रतियोगितामा स्नातक तहमा अध्ययनरत सेमेस्टर प्रणाली अन्तर्गतका कलेज टोलीहरू प्रतिस्पर्धामा उत्रनेछन्। प्रतियोगिता सञ्चालनमा करिब साढे पाँच लाख रुपैयाँ खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए।

विजेता टोलीले ९० हजार रुपैयाँसहित उपाधि ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ४० हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले २० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन्। व्यक्तिगत प्रदर्शनमा उत्कृष्ट ठहरिने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। यस्तै उत्कृष्ट डिफेन्डर, गोलरक्षक र गोलकर्ताले जनही ३–३ हजार रुपैयाँसहित गिफ्ट भौचर पाउनेछन्। उत्कृष्ट प्रशिक्षकलाई ट्रफीसहित विशेष सम्मान गरिनेछ।

सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेट प्रतियोगिताको पाँचौं संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको सायम कलेजले यसपटक पहिलोपटक अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिता संयोजक दशरथ शाहीका अनुसार कलेजस्तरीय खेल प्रतिस्पर्धामा फरक पहिचान बनाउने लक्ष्यसहित यो प्रतियोगिता सुरू गरिएको हो।

हाइसेन्स नेपाल प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ भने एथर इनर्जी, पठाउ नेपाल, उप्स नेपाल, मेडेक्स मल्टी स्पेसिएलिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, पार्क भिलेज रिसोर्ट, सूर्य नेपाल, जस्मिन पेन्ट्स र बेन नेभिसले सहप्रायोजकको रूपमा साथ दिएका छन्।