काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको बताएका छन् ।
आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्युनिकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताएका हुन् । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले सुरक्षा निकायहरुलाई विपद् न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताए ।
जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेको र विपद् भएको खण्डमा जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको जानकारी दिए । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरू बनाइ प्रदेश सरकारलाई जिम्मा लगाइएको बताए ।
“सरकारले आफ्नो ठाउँबाट गर्ने तयारी गरिरहेको छ । हामी मनसुनको प्रारम्भमा छौँ । मनसुन सुरू भइसकेको छ । अहिले सबैभन्दा पहिला केही दिन पहिला नेपाल प्रहरीको पनि हेड क्वार्टरमा गएर, सशस्त्र प्रहरी बलको मुख्यालयमा गएर देशभर नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बल नेपालको तयारीको बारेमा हेरेका छु, छलफल गरेको छु । देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तयारी रहनका लागि निर्देशन गरिएको छ । सुरक्षाकर्मीहरू: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग आफ्नो ठाउँमा विपद् जोखिमको विषयमा तयारी अवस्थामा बसेका छन्,” उनले भने ।
गृहमन्त्री लेखकले काठमाडौँ, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर विपद् सुरक्षार्थ खटाइएको बताए । सरकारसँग सिमित स्राेत र साधन रहेको बताउँदै ठूलो विपद्को व्यवस्थापन गर्न सरकारले मात्रै गर्छ भनेर बस्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्