काठमाडाैँ । बर्खायम्, हिलाम्मे बाटो । बुटबल–दाउन्ने–नारायणगढको बाटो छिचोल्दै २४ घण्टा लगाएर कपिलवस्तु गजेडाका दिनेश विक काठमाडौँ आए ।
साउदी अरब जान काठमाडौँ आएका दिनेश यतिबेला काठमाडौँमा अलपत्र छन् । घरबाट हिँड्दा सब ठिकठाक थियो । काठमाडौँ आएपछि बिहानपख उनलाई थाहा भयो टिकट क्यान्सिल भयो । सबै भिसा, कागजात ठिकठाक भएपनि उनी उड्न नपएको र १० बजेको टिकट रद्द भएको एयरलाईन्सले बताएको उनले बताए ।
साउदी अरब जान काठमाडौँ आएका दिनेश भन्छन्,”अचानक टिकट क्यान्शिल भयो । काठमाडौँ बिहान ५/६ बजे आइयो । १० बजेको टिकट थियो । अहिलेसम्म उड्न पाइएन । एयरलाइन्सले हात्तिसार जान भन्छ । हामीलाई केही थाहा छैनन् किन जाने ? के का लागि जाने । सरकारले हामीलाई छिटो पठाउनुपर्यो ।”
दिनेशलाई उडान किन रोकियो त्यो पनि थाहा छैन । झापाका किरणकुमार मुखिया सुनुवार दुबई जानका लागि हिजो काठमाडौँमा आए । राति ११ बजेर ४५ मिनेटको उडान भएपनि उनी उड्न पाएनन् । इरानले कतारमा आक्रमण गरेपछि सबै उडान रोकिएपछि अहिलेसम्म उड्न नपाएको सुनुवार बताउँछन् ।
उनी भन्छन्, “कतारमा बमबारी भएका कारण उड्न रद्ध भएको भनियो । मिडियाहरूमा पनि त्यही देखियो । अहिलेसम्म आधिकारीक रुपमा केही जानकारी आएको छैनन् । रातिदेखि चिसो भुँइमा पानी परिरहेको थियो । त्यही बस्नुपर्यो ।एयरलाइन्सवालाहरूले बाहिर जानु । मेनपावरसँग सम्पर्क गर्न भन्छ । मेनपावरले एकछिन त्यहीँ बस भन्दैछ । के गर्ने दोधारमा छु ।”
उनले काठमाडौँमा आफूहरू अलपत्र परेको बताए । सुनुवारकाअनुसार खाना बस्नका लागि कुनै केही व्यवस्था छैन । उनले हिमालय एयरलाइन्सको टिकट काटेका थिए ।
स्पेन जानका लागि पोखराबाट काठमाडौँ आएकी हिमा कार्की अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेकी छन् ।
उनी भन्छिन्, “हिजो पोखराबाट आए । होटलमा बसे । अहिले उड्न समयमा यहाँ आउँदा रोकिएको छ । पहिल्यै हामीलाई सूचनाहरु हुनुपथ्र्यो । यदी रोकिने भए । केही जानकारी पाइएन । यो त हाम्रो सरकरको लापरबाही हो जस्तो लाग्छ । भोली अफिस जानु छ । नाति छोरी पनि सँगै छन् । अलपत्र परियो ।”
उनकाअनुसार कतार एयरलाइन्सले पनि यात्रुलाई होटलको व्यवस्था गरेर राख्नुपथ्र्यो । तर सयौं यात्रु अलपत्र पारेको छ । धनगढीका रामकुमार सदार साउदी अरब जानका लागि रातरात काठमाडौँ आए । तर अहिलेसम्म उड्न पाएका छैनन् ।
अहिले आफूहरू अलपत्र परेको उनले बताए । खाना बस्नका लागि आफूहरुसँग पैसा पनि नभएको उनको भनाई छ । उनीहरूजस्तै सयौँ जना यतिबेला त्रिभुवन विमानस्थलमा अलपत्र छन् । कतिबेला उड्ने उनीहरूलाई पत्तो छैन । राज्यले पनि सहजीकरण गर्न सकिरहेको छैन ।
इरानले आफ्ना आणविक भट्टीहरूमा अमेरिकी आक्रमणको बदलामा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो । रातिदेखि खाडिका उडान बन्द भएपछि सरकारले अलपत्र यात्रुका बारेमा चासो नदेखाएको उड्न नपाएका अलपत्र यात्रुहरूले बताएका छन् ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्