जापान, कोरिया र युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने तयारी अन्तिम चरणमा छः मन्त्री भण्डारी


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीका घटनाहरू सरकारका लागि गम्भीर चुनौती बनेको बताएका छन् ।

प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले श्रमिक ठगिएको निवेदनको अध्ययनका आधारमा ठगीमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गरिने समेत बताएका हुन् ।

उनले विदेश जान लालायित नेपाली युवाहरूलाई अवैध एजेण्ट र दलालहरूले लुट्ने क्रम नरोकिएका कारण यस्ता गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारले अनुसन्धान संयन्त्रलाई सक्रिय बनाएको उल्लेख गरे ।

उनले वैदेशिक रोजगारका लागि दक्ष र अर्धदक्ष नेपाली श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत तवरबाट पठाउने तयारी भइरहेको समेत बताए । उनले अगामी जुलाई महिनादेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया सुरू हुने जानकारी गराए ।

उनले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई प्रयोग गर्ने पुनः एकीकरण कार्यक्रम र सुरक्षित आप्रवासन कार्यक्रमलाई प्राथमिकता दिएको पनि जानकारी गराए ।