अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न गठित छानविन समितिलाई नौ ओटा कार्यादेश


काठमाडाैँ । सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान गठर्न गठित उच्चस्तरीय अध्ययन एवं छानविन समितिलाई नौ ओटा कार्यादेश दिएको छ । 

पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानविन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवं संरचनागत सुधारको तत्कालिन र दीर्घकालिन कार्ययोजना प्रस्तुत गर्ने, अध्यागमन व्यवस्थापन, भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रने यात्रुलाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरावलोकन आवश्यक भए सोको मस्यौदासहितको सुझाव पेश गर्न र अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत व्यवस्था कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रश्तावसहितको सुझाव पेश गर्ने कार्यादेश रहेको छ ।

त्यसैगरी अध्यागमन व्यवस्थापन र नागरिकहरुको आवत जावतमा समस्या सिर्जना हुन नदिन संवद्ध निकायहरूबिचको समन्वय र सहकार्यमा गर्नुपर्ने सुधार एवं व्यवस्थाबारे सुझाव पेश गर्ने, नागरिकको यात्रा सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यास गरी नेपालको परिवेश अनुकूल कार्यान्वयन गर्नसकिने सुझाव पेश गर्नेलगायत ९ वटा कार्यादेश रहेको गृहमन्त्रीले जानकारी दिए ।
समितिले सबैसँग सल्लाह र सुझाव संकलन गर्नसक्ने र कार्यविधि आफैं बनाउन सक्ने गृहमन्त्री लेखकले जानकारी दिए ।