सात प्रदेशका १४ कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार


काठमाडौं । देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशवाट सुरेश कुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म) मधेस प्रदेशवाट भरत कुमार यादव(शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर(निजगढ केरा एग्रीकल्चर) वाग्मती प्रदेशवाट चेत प्रसाद ढकाल(कालिका पशु विकास केन्द्र) र दयाराम मचामसि (ग्रीनलाईन एग्रो प्राली) गण्डकी प्रदेशवाट छिरिङ ढोका गुरुङ (वाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म) र बाटुली तिवारी(मित्र वाटिका कृषि फर्म) , लुम्बिनी प्रदेशवाट जयपाल मौर्य(खाधन्न वाली) र सुवास कुर्मी(शान्ती उन्नत पशुपालन तथा माछा फर्म) छ्न । त्यस्तै कर्णाली प्रदेशवाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती) र सुदुरपश्चिम प्रदेशवाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छ्न् ।

पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गरे । उनले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने धारण राखे।

“कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण/यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने ।

पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दे कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजको दिन हामी सबैका लागि गर्व र प्रेरणाको दिन भएको बताए । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा स्वीकृत “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१” अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट समावेश गरिएको थियो । उत्कृष्ट कृषकको रुपमा छानिएर आएका १४ जना कृषकहरूलाई उनीहरुले कृषि क्षेत्रमा पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न पाउनु एक ऐतिहासिक अवसर भएको उल्लेख गरे ।

“हाम्रा किसानहरूले माटोमा बगाएको पसिनाले नै हाम्रो भान्छा भरिएको छ, हाम्रो अर्थतन्त्रलाई टेवा पुगेको छ र सिंगो राष्ट्रले खाद्य सुरक्षाको अनुभूति गर्न पाएको छ। ,प्रकृतिका चुनौतीहरूका वीच पनि कृषकहरुले कृषि क्षेत्रमा पु¥याउनुभएको योगदान अतुलनीय छ। उहाँहरूको अथक परिश्रम, धैर्यता र लगनशीलताको आज हामीले कदर गरेका छौँ,” मन्त्री अधिकारीले भने ।

उत्कृष्ट कृषक पुरस्कारले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै समाजमा नयाँ प्रेरणा दिएको उल्लेख गर्दे मन्त्री अधिकारीले यो सफलताले विशेष गरी युवाहरू, महिलाहरू र साना कृषकहरूका लागि प्रेरणाको स्रोत बनेको छ, जसले कृषि पेशाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याइरहेको छ बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीति, योजना र कार्यक्रममार्फत किसानमुखी सेवा प्रवाहलाई अझ प्रभावकारी र समावेशी बनाउने प्रतिवद्धता समेत मन्त्री अधिकारीले व्यक्त गरे। कृषि क्षेत्रमा प्रविधिको प्रयोग, नवप्रवर्तन र युवा सहभागितालाई प्रोत्साहन गर्दै कृषि व्यवसायलाई देशको समृद्धिको आधार बनाउने हाम्रो साझा लक्ष्य रहेको र यसलाई बनाउन सवैको हातेमालो आवश्यक रहेकाे मन्त्री अधिकारीले बताए ।