विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छः प्रमुख सचेतक पाण्डे


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको बताएका छन् । 

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मन्त्रीले समितिमा आएर विधेयक छिटो गर्नुपर्छ भन्ने गर्नुभएको तर सरकारकै कारण विधेयक पारित हुनबाट ढिलाइ भइरहेको आरोप लगाएका छन् । उनले सरकारले विधेयकबारे गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन् । 

उनले भने, “विधेयक छिटो गर्नुपर्ने कुरा माननीय गृहमन्त्रीज्युले समितिमा आएर सधैँ भन्नुहुन्छ । तर सरकारकै कारणले गर्दा विधेयक छिटो छिटो गएको छैन । यो विषयवस्तुलाई सरकारले गम्भीरताका साथ लिओस् । हाम्रो सभापतिज्युले पनि चाहे त्यो अख्तियारको होस् वा निजामतिको कुरा होस्, यसलाई सभापतिको तर्फबाट र समितिको नेतृत्वको तर्फबाट पनि पहलकदमी पुगेको छैन ।”

प्रमुख सचेतक पाण्डेले समिति सभापतिले पनि विशेष चासो दिएर पहल कदमी लिन नसकेको आरोप लगाए ।