आयातमा निर्भरता घटाउन केही वस्तुहरूको भन्सार तथा करको दरमा वृद्धि गरिएको होः राजश्व सचिव घिमिरे


काठमाडाैँ । अर्थ मन्त्रालयका राजश्व सचिव दिनेशकुमार घिमिरेले सरकारले आयातमा निर्भरता घटाउने नीतिअनुसार केही वस्तुहरूको भन्सार तथा करको दरमा वृद्धि गरिएको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले अगामी आर्थिक वर्षको बजेटमार्फत सूचना प्रविधि, हाइड्रोजन उत्पादनलगायतका क्षेत्रलाई आयकर छुटको सुविधा दिइएको समेत उल्लेख गरे ।

उनले मूल्य अभिवृद्धि कर (भ्याट) राजस्व संकलन प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै सोही आधारमा वस्तुको प्रकृतिअनुसार कर लगाइएको समेत बताए । विभिन्न औद्योगिक क्षेत्रबाट भ्याट छुटको माग आउने गरेपनि  सरकारको समष्टिगत नीति र प्राथमिकताका आधारमा निर्णय हुने गरेको उनकाे भनाइ छ ।

उनले आयुर्वेदिक औषधि व्यवसायीको चिन्ता र चासोको विषयमा समेत सरकारले उपयुक्त निर्णय लिने विश्वास व्यक्त गरे ।