खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण छ : अर्थमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन् ।

बुधवार सिंहदरबारमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्न बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले एकातिर भूपरिवेष्ठित र अर्कोतिर खुला सीमानाका कारणले सम्पूर्ण कारोबारलाई भन्सार बिन्दुबाट मात्रै हुने कुराको सुनिश्चितता गर्ने विषय चुनौतीपूर्ण रहेको बताएका हुन् ।

उनले अवैध निकासी–पैठारी रोक्नका लागि कानुनी व्यवस्थासँगै संरचनागत सुधारको पनि खाँचो रहेको बताए । भन्सार बिन्दुबाट मात्रै कुनै पनि सामानको निकासी र पैठारी हुन्छ भन्ने कुराको आश्वासन दिन सक्नुपरेको उनकाे भनाइ छ । उनले उक्त चुनौतिको बिचबाट आफूहरूलाई खरो रूपमा उतार्नुपर्ने अवस्था रहेको समेत जिकिर गरे ।

उनले भन्सार बिन्दुबाट मात्रै पैठारी र निकासी हुन्छ भन्ने कुराको आश्वासन दिन नसक्दा चुहावटका समस्याहरू आउने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको जिकिर गरे।