काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको आजको बैठकले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक, सफल र प्रभावकारी ठहर गर्दै सरकारको कार्यशैली र उपलब्धिहरूको सकारात्मक मूल्याङ्कन गरेको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा, स्थिरता र सुशासनलाई लक्ष्य बनाउँदै गठित सरकारले अपेक्षित प्रभावकारिता हासिल गरेको निष्कर्ष निकालिएको हो।
बैठकमा सहभागी एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार सरकारले सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय ध्यान दिएको र तीव्र गतिमा काम अगाडि बढाएको भन्दै सरकारको काम कारबाहीप्रति सन्तोष व्यक्त गरिएको छ।
ज्ञवालीका अनुसार, विशेष गरी दैलेखमा मिथेन ग्यास उत्खननको प्रारम्भिक प्रतिवेदन सार्वजनिक हुनु, पूर्वाधार विकास, नीति निर्माण र सेवाप्रवाहमा सुधारजस्ता विषयहरू सरकारको सफलताको सूचकका रूपमा बैठकमा प्रस्तुत गरिएको थियो।
साथै, उनले सरकारको आगामी कार्यदिशा अझ प्रभावकारी बनाउन सेवा प्रवाहलाई अझ सुदृढ गर्नु आवश्यक रहेकोमा सचिवालय बैठकले विशेष जोड दिएको बताए।
बैठकले बहुदलीय सहभागितामा बनेको वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्दै विकास र सुशासनको यात्रालाई बलियो बनाएको निष्कर्षसमेत निकालेको छ।
सचिवालयले आगामी दिनमा पनि जनअपेक्षा अनुसार काम गर्न सरकारलाई निरन्तर सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्