ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अपरिहार्य छ : मन्त्री खड्का


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दिगो ऊर्जा सुरक्षाका लागि नवप्रवर्तन र क्षेत्रीय सहकार्य अपरिहार्य रहेको स्पष्ट पारेका छन्।

चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा “इन्टीग्रेट इनाेभेसन फर इनर्जी फियूचर” भन्ने नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन (एससीओ) को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै मन्त्री खड्काले सो धारणा व्यक्त गरेका हुन् ।

उनले ऊर्जा अब केवल व्यापारको विषय नभई दिगो विकास र साझा समृद्धिको आधार बनेको उल्लेख गर्दै एससीओ सदस्य राष्ट्रहरूबिच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, प्रविधिमा नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्धन र आपसी सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए। उनले भने, “एससीओ क्षेत्रले साझेदारी र नवप्रवर्तनमार्फत ऊर्जा स्वतन्त्रताको यात्रामा अघि बढ्नैपर्छ।”

मन्त्री खड्काले नेपालको ऊर्जा योजनाबारे जानकारी दिँदै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र सोमध्ये १५ हजार ००० मेगावाट निर्यात गरिने योजना रहेको बताए। हाल नेपालमा ३ हजार ५०० मेगावाटभन्दा बढी विद्युत उत्पादन भइसकेको उल्लेख गर्दै उनले निकट भविष्यमै उत्पादन क्षमतालाई दोब्बर बनाउने सरकारको योजना रहेको पनि जानकारी दिए ।

उनले भारतसँग सुरू भएको विद्युत व्यापार, भारतको ग्रिड प्रयोग गरी बङ्गलादेशमा पहिलोपटक विद्युत निर्यात गरिनु तथा यो प्रक्रिया त्रिपक्षीय ऊर्जा सहकार्यको ऐतिहासिक उपलब्धि भएको भन्दै एससीओ सदस्य राष्ट्रहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।

विशाल जनसंख्या, ऊर्जा स्रोत र सम्भावनाले भरिपूर्ण एससीओ क्षेत्रलाई लक्ष्यित गर्दै उनले लगानी प्रवर्द्धन, ऊर्जा व्यापारका लागि क्षेत्रीय संरचना निर्माण र नवप्रवर्तनलाई प्रोत्साहन गर्न आह्वान गरे । उनले नेपाल एससीओको संवाद साझेदार राष्ट्रका रूपमा ऊर्जा क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको स्मरण गराउँदै ऊर्जा क्षेत्र समावेशी, दिगो र सहकार्यमा आधारित हुनुपर्ने धारणा राखे ।

बैठकमा एससीओ सदस्य राष्ट्रहरूका ऊर्जा मन्त्रीहरू, उच्चस्तरीय प्रतिनिधिहरू र प्राविधिक विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकबाट क्षेत्रीय ऊर्जा सहकार्य, प्रविधि हस्तान्तरण, पूर्वाधार विकास तथा ऊर्जा व्यापारका लागि मार्गचित्र तय हुने अपेक्षा गरिएको छ।