२२ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०८२ को मूल कार्यक्रम खुमलटारमा


काठमाडौँ । “धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ आज २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो, जसको उत्पादन वृद्धिसँगै यसको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक पक्षमा पनि महत्वपूर्ण योगदान छ।

यस अवसरमा मूल कार्यक्रम काठमाडौँस्थित नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा भइरहेको समारोहमा किसान, वैज्ञानिक, पत्रकारलगायतलाई सम्मान तथा पुरस्कार वितरण गरिँदैछ भने प्रतीकात्मक रूपमा रोपाइँ कार्यक्रमसमेत आयोजना गरिएको छ।

चालु आर्थिक वर्ष २०८१र८२ मा वर्षे र चैते गरी देशभर १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती भई ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ। औसत उत्पादकत्व ४।१९ मेट्रिक टन प्रतिहेक्टर रहेको छ, जुन हालसम्मकै उच्च हो। यद्यपि वार्षिक आवश्यक करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टनको अभाव देखिएको छ।

गत जेठ मसान्तसम्म करिब ७ लाख ५३ हजार मेट्रिक टन धानजन्य वस्तु आयात भइसकेको छ, जसमा करिब ३८ अर्ब ९४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च भएको छ। मुख्यतः मसिना तथा वासनादार चामलप्रति उपभोक्ताको बढ्दो आकर्षण र छिमेकी मुलुकको निर्यात नीतिका कारण आयात कम गर्न चुनौतीपूर्ण देखिएको मन्त्रालयको भनाइ छ।

नेपाल कृषि अनुसन्धान परिषद्बाट हालसम्म १४० भन्दा बढी धानका जातहरू विकास र दर्ता गरिएका छन् भने हाइब्रिड धानको प्रवर्द्धन तथा गुणस्तरीय बीउ उपलब्ध गराउने कार्यक्रम संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन भइरहेका छन्। संघीय सशर्त वित्तीय हस्तान्तरणमार्फत आगामी वर्ष १८ जिल्लाका ५८ पालिकामा चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानका २१ जोन र ५ सुपरजोनमा वर्षे र चैते दुवै धान बालीका सम्पूर्ण मूल्यश्रृंखलालाई समेटेर कार्यक्रम सञ्चालन भइरहेको छ। साथै, न्यूनतम समर्थन मूल्यको निर्धारण र कार्यान्वयनलाई प्रभावकारी बनाउने तयारी पनि भइरहेको छ।

धान दिवसको अवसरमा प्रधानमन्त्री र कृषि मन्त्रीका विशेष सन्देश सार्वजनिक गरिँदैछ। साथै, पत्रकार भेटघाट, टेलिभिजन परिसंवादलगायतका कार्यक्रमहरू पनि आयोजना हुँदै छन्। प्रदेश र स्थानीय तहहरूमा पनि रोपाइँ, प्रदर्शनी, सम्मान तथा जनचेतनामूलक कार्यक्रमहरू गरिँदैछन्।

धान बालीको महत्त्व, खाद्य तथा पोषण सुरक्षामा योगदान र दीर्घकालीन उत्पादन लक्ष्यबारे बहस र छलफल गर्नुपर्ने आवश्यकता औँल्याउँदै मूल आयोजक समिति अध्यक्ष तथा कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सफल पार्न सम्पूर्ण सरोकारवालालाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।