काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा राज्यको लगानी र ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस विषयमा जोड दिए ।
उनले महँगो पैसा तिरेर पढ्छु भन्ने हुने खानेहरूलाई विकल्प दिन नसकिए पुँजी र मानव शक्ति दुवै विदेशिने खतरा औल्याए । उनले राज्य अनिवार्य र निःशुल्क शिक्षाबाट पछि नहटेको बताउँदै राज्यको अनिवार्य र निःशुल्क शिक्षा जरुरत हुनेहरूमा रहेको बताए ।
मन्त्री पन्तले निजी विद्यालयहरू गुठीमा जान्छन् भने छुट दिनुपर्नेमा जोड दिँदै राज्यको लगानी र ध्यान सार्वजनिक शिक्षामा लगाउनुपर्ने समेत जिकिर गरे ।
उनले भने , “हुने खानेले पैसा खर्च गरेर पढ्छु भन्नेलाई विकल्प उपलब्ध गराउन सकिएन भने पुँजी पनि बाहिर जान्छ, मानव पनि बाहिर जान्छ । यसो भन्दा राज्य के अनिवार्य र निःशुल्क शिक्षाबाट हट्यो त रु होइन, हटेको छैन । राज्यको अनिवार्य र निःशुल्क शिक्षा ती मानिसहरूलाई हो, जसलाई जरुरत छ । जसको लागि आवश्यकता छ त्यसको लागि राज्य उपलब्ध हुनुपर्दछ । जो सरकारी स्कुलमा पढ्न आउँछन्, अर्बपतिको छोरा पनि सार्वजनिक विद्यालयमा पढ्न आउँछु भन्दा त तपाईँले रोक्न सक्नुहुन्न, रोक्नुहुन्न । उनीहरूलाई पनि खुल्ला छ । निजी विद्यालयहरू गुठीमा जान्छन् भने छुट दिऔँ । राज्यको लगानी र ध्यान सार्वजनिक शिक्षामा लगाऔँ । कसरी क्वालिटीको बनाउने भन्नेमा राज्यको ध्यान केन्द्रित हुनुपर्छ ।”
उनले राज्य निजी क्षेत्रलाई निषेध गरेर जाने पक्षमा नरहेको बताउँदै सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्