काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
शुक्रबार साँझ बसेको बोर्ड बैठकले कक्षा १० को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेडेड नतिजा प्राप्त गरेका छन्।
एसईईको नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ जना विद्यार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ४८ हजार १७७ रहेको छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३५५, २.८ देखि ३.२ ल्याउने ९९ हजार १२४, २.४ देखि २.८ ल्याउने ४८ हजार ४७९, २ देखि २.४ ल्याउने ४ हजार १२६ र १.६ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ रहेको बोर्डले जनाएको छ।
यसपटक १२६ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने १ लाख ६७ हजार ५९७ जना अवर्गीकृत विद्यार्थी रहेका छन्। अवर्गीकृत हुनेमा अधिकांशले एक वा बढी विषयमा ग्रेड प्राप्त गर्न नसकेको पाइन्छ।
चैत ७ गतेदेखि सञ्चालन भएको २०८१ सालको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए।
बोर्डले एसईईको विस्तृत नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरेको छ। नेपाल टेलिकमको १६०० नम्बरमा म्यासेज पठाएर वा फोन गरी नतिजा थाहा पाउन सकिनेछ। साथै जानकी टेक, आकाश टेक, अल स्टार आईटी सोलुसन्स लगायतका सेवा प्रदायकहरूबाट पनि निश्चित सर्ट कोड प्रयोग गरी नतिजा हेर्न सकिने छ।
प्रतिक्रिया दिनुहोस्