काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार सार्वजनिक एसईई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । गत वर्ष २०८० मा मात्र ४७.८६ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका थिए भने ५२.१४ प्रतिशत विद्यार्थी ननग्रेडेड (एनजी) भएका थिए ।
यस वर्षको नतिजा अघिल्ला वर्षको तुलनामा सुधार भएको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् ।
“एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरूलाई हार्दिक बधाई १ यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ,” भन्दै ओलीले लेखेका छन्, “बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ ।”
ग्रेड नपाउने विद्यार्थीहरूलाई पनि निराश नहुन आग्रह गर्दै उनले भनेका छन्, “ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ ।”
प्रधानमन्त्री ओलीले सबै विद्यार्थीको भविष्य उज्यालो होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्