काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा मौसममा उल्लेख्य परिवर्तन देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टासम्म देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
आज बिहान ६ बजे प्रकाशित मौसम पूर्वानुमान अनुसार, आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, ती क्षेत्रका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको उल्लेख गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।
आज राति पनि मौसम बदली नै रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा विशेषगरी मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। साथै, हिमाली क्षेत्रमा पनि वर्षा वा हिमपातको सम्भावना कायम रहेको छ।
मनसुनी प्रभावका कारण नदी तथा खोला-नालाहरूमा पानीको सतह बढ्न सक्ने, पहिरोको जोखिम हुन सक्ने र यातायात प्रभावित हुन सक्ने भएकाले महाशाखाले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्