काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज स्पेनको सेभिल्ला प्रस्थान गर्दै छन् । उनी संयुक्त राष्ट्रसंघको आयोजनामा असार १६ गतेदेखि १९ गतेसम्म सेभिल्लामा हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन (एफएफडि–४)’ मा सहभागी हुन २९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् ।
प्रधानमन्त्रीको यो भ्रमण राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको हो ।
सम्मेलनमा विश्वभरका राष्ट्राध्यक्ष, अन्तरराष्ट्रिय तथा क्षेत्रीय संस्था, वित्तीय निकाय, नागरिक समाज, व्यवसायिक क्षेत्रका प्रतिनिधि सहभागी हुँदैछन्। सम्मेलनमा अल्पविकसित, साना तथा द्वीपीय राष्ट्रहरूको पक्षमा नेपालले वकालत गर्नेछ ।
नेपालबाट पहिलोपटक यस स्तरमा सहभागी हुँदै गरेको यो भ्रमणले समावेशी वित्तीय सहयोग, आर्थिक न्याय र विकासशील राष्ट्रप्रति विकसित मुलुकको जिम्मेवारीबारे जोड दिनेतर्फ नेपालले पहल गर्नेछ । साथै, गरिब राष्ट्रहरूका लागि गरिएको लगानी प्रतिबद्धताको कार्यान्वयन सुनिश्चित गर्न पनि नेपालले सम्मेलनमा धारणा राख्नेछ ।
प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नुहुनेछ। त्यसैगरी अन्य विभिन्न राष्ट्र प्रमुखहरूसँग ‘साइडलाइन’ भेटवार्ताहरू समेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै स्पेनको राजधानी म्याड्रिड प्रस्थान गर्नुहुनेछ। भ्रमणपछि उहाँ यही असार २० गते शुक्रबार साँझ ४:४५ बजे स्वदेश फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रमूख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र शिष्टाचार महापाल कुमारराज खरेललगायत छन् ।
त्यसैगरी, स्पेनस्थित नेपाली राजदूत शनिल नेपाल तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि भ्रमणमा सहभागी हुनुहुनेछ । काठमाडौँबाट २१ जना र स्पेन तथा न्युयोर्कबाट आठ जना गरी कुल २९ जना नेपाली प्रतिनिधिमण्डल सहभागिता जनाउनेछन् ।
सरकारले विश्वास व्यक्त गरेको छ कि यो भ्रमणले नेपालको विकास एजेन्डालाई अन्तरराष्ट्रिय मञ्चमा उजागर गर्नेछ। साथै, युरोपेली मुलुकहरूसँगको सम्बन्ध सुदृढ गर्दै स्पेन लगायतका देशबाट नेपालमा पर्यटन प्रवर्द्धन तथा लगानी भित्र्याउने दिशामा सहयोग पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्