धान रोपाइँ हालसम्म १५ प्रतिशतमात्र, सबैभन्दा कम मधेस प्रदेशमा


काठमाडौँ । यो वर्षको असार १३ गतेसम्म देशभर कुल १५.६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो । गत वर्ष असार १४ सम्म १७.२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

कुल १३ लाख ९१ हजार ३२१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख १७ हजार २८९ हेक्टरमा मात्रै धान रोपिएको छ । सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा ४५.५ प्रतिशत क्षेत्रफलमा सम्पन्न भएको छ, जुन अघिल्लो वर्षको तुलनामा पनि उच्च हो ।

कर्णाली प्रदेश ३९.१ प्रतिशतसहित दोस्रो स्थानमा छ भने बाग्मती प्रदेशमा २०.५ प्रतिशत, कोशीमा १४.३ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत र लुम्बिनीमा ९.७ प्रतिशत रोपाइँ भएको छ ।

अत्यन्तै कमजोर प्रगति मधेश प्रदेशमा देखिएको छ, जहाँ हालसम्म जम्मा ३.९ प्रतिशत मात्रै रोपाईं सम्पन्न भएको छ । यद्यपि मधेश प्रदेशका सप्तरी, रौतहट र महोत्तरी जिल्लाको तथ्याङ्क आउन बाँकी भएकाले त्यो आँकडा परिवर्तन हुन सक्ने मन्त्रालयले जनाएको छ ।

धान रोपाईं ढिलो हुनुमा पानीको अभाव र सिँचाइको सुविधा नपुगेको समस्या प्रमुख कारणका रूपमा देखिएका छन् ।