कुराले कृषि बिग्रियो । कृषि भनेको कर्म हो। कृषि पेशा भनेको धर्म हो। धर्म र कर्मको प्रतिफल भनेको उत्पादन, रोजगारी र जीविकोपार्जन हो। कृषि अन्य देश र भूगोलको देखेर नक्कल गर्ने बस्तु पनि होइन यो त नितान्त हावापानी, किसानको क्षमता, आर्थिक अवस्था, राज्यको नीति नियम, ऐन कानुन र उपभोक्ताको चेतानस्तर र उपयोग क्षमतामा भर पर्ने कुरा हो।
—–पंचकाजी श्रेष्ठ—–
नेपाल कृषि प्रधान देश हो। यहाँका ६२ प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न छन् । देशको कुल क्षेत्रफलको १ लाख ४७ हजार १८१ वर्ग कि.मी. मध्ये २७ प्रतिशत (४२ लाख २१ हजार ) हेक्टर खेती योग्य जमिन छ।
उक्त खेतीयोग्य जमिन मध्ये २० प्रतिशत (३० हजार ९१ हजार हेक्टर) मा खेती गरिएको छ भने ७ प्रतिशत (१० लाख ३० हजार हेक्टर) खेती नगरिएको खेती योग्य जमिन रहेको छ । खेतीपातीको लागि अनुकुल हावापानी एवं वाली विविधताको लागि प्रचुर सम्भावना रहेर पनि हामी कहाँ चुक्दैछौ र पेशागत पलायनता बढ्दैछ भने आयात पनि बढ्दै गएकाे छ ।
विगत १० वर्षदेखि सरकारले नीति तथा कार्यक्रम मार्फत उत्पादनलाई दोब्बर बढाउने आयात प्रतिस्थापन कृषिको व्यवसायिकरण, यान्त्रीकरण र औद्योगीकरणकाे रटान लगाउँदै आएको छ । कृषि लगानी दशक जस्ता कर्णप्रीय नीति पनि घोषणा गरेको छ तर यसको ठोस कार्यनीति, कार्ययोजना छैन ।
नेपाली कृषिको वास्तविक धरातल फरक छ । देशको करिब ४४ लाखको हाराहारी घर परिवारले कृषि कर्म गर्दै आएका छन् । जसमध्ये करिब ४१ लाख घर परिवार पारिवारिक खेती प्रणालीमा रहेका छन् । पारिवारिक खेती नेपालको मौलिक खेती प्रणाली हो । यसबाट ८० प्रतिशत खाद्यान्न उत्पादन हुने गरेको छ ।
अहिलेको अवस्थामा कृषि पेशामा संलग्न हुने भनेको अधिकांश महिलाहरू छन् । देशको १९.७१५ जमिन मात्र महिलाको नाममा छ। उक्त जमिन मध्ये पनि ११ प्रतिशत मात्र उनीहरूको आफ्नो अधिनमा रहेको छ। महिलामैत्री कृषि प्रविधिको विकास हुन सकेको छैन । बैंक तथा वित्तिय संस्थाले उनीहरूलाई पत्याउँदैन ।नेपालमा १५ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ ।
उत्पादनको हिसाबमा विश्वमा नेपाल धान उत्पादन गर्ने १७ औं स्थानमा रहेको छ । तर प्रतिवर्ष धान उत्पादनको क्षेत्रफल विस्तारै कम हुँदै गएको छ । ६० को दशकमा नेपाल चामल निर्यात गर्ने देश थियो भने हाल वार्षिक १६ अर्ब रुपैयाँ बराबरको चामल आयात गरिरहेको छ।
नेपालमा अनुसन्धान किसानको घर खेतसम्म पुगेन । किसानको चाहना र उपभोक्ताको रोजाई र आवश्यकता अनुसारको धानको जाेन विकास गरी उपलब्ध गराउन सकेन। एउटा उदाहरण हेरौं हाम्रो बजारले मध्येम स्तरको जीरा मसिनो चामाल बढि खोज्छ । तर नेपालमा हाईब्रीड धान बढी फलाइन्छ र मोटा चामल निकालिन्छ । मसिनो धान निकै कम खेती गरिन्छ । कृषि प्रधान देशले उपभोक्ताको आवश्यकता अनुसारको धान उत्पादन गर्न सकेको छैन। उल्टै बाहिरबाट किनिन्छ ।
उत्पादनको हिसाबमा हामिले वार्षिक ४८ लाख टन धान उत्पादन हुन्छ । वार्षिक माग ६० लाख टन हो। माग अनुसार साथै बजारको चहाना अनुसारको उत्पादन नहुँदा वार्षिक १६ अर्ब भन्दा बढि मुल्यको धान चामलको खरिद गरिदै आएको छ ।
हाल प्रति हेक्टर २ देखि ३ मेट्रिक टन उत्पादन हुदै आएको छ । हामीले प्रविधिको उपयोग, सिंचाईको सहि व्यवस्थापन गर्न सकेमा प्रति हेक्टर ५ मेट्रिक टन उत्पादन बनाउन सकिने विज्ञको सुझाव छ ।
यसले अपुग चामलको मागको आपूर्तिमा सहयोग गर्दछ। सिचाई योग्यमा सिंचाई चाहिने धान, चैते धान, सुख्खा सहने जातको धानमा विविधिकरण गर्दा धान जन्य खाद्यन्नको सन्तुलनमा हामीलाई समस्या रहदैन । यसर्थ साना किसानको विविधिकृत उत्पादन र खानेबानीको सुधार एवं उत्पादनमा आधारित खाद्य सुरक्षाको प्रवर्धन आवश्यक देखियो ।
उत्पादनको लागि आवश्यक बिउमा नेपालको परनिर्भरता बढ्दो छ । मलखादको उपलब्धता छैन । आयातित खाद्य वस्तुले बजार कब्जा गरेकाे छ । स्थानीय उत्पादनले बजार र उचित मुल्य पाउँदैन । उत्पादन गर्ने किसानले भण्डार र प्रशोधनको व्यवस्थाबाट लाभ लिन पाएको छैन । कृषि उत्पादन बिउ मल, औजार, बजारमा दिईने अनुदानको दुरुपयोग एवं किसानको पहुँचमा पुग्न सकेकाे छैन् ।
कुराले कृषि बिग्रियो । कृषि भनेको कर्म हो। कृषि पेशा भनेको धर्म हो। धर्म र कर्मको प्रतिफल भनेको उत्पादन, रोजगारी र जीविकोपार्जन हो। कृषि अन्य देश र भूगोलको देखेर नक्कल गर्ने बस्तु पनि होइन यो त नितान्त हावापानी, किसानको क्षमता, आर्थिक अवस्था, राज्यको नीति नियम, ऐन कानुन र उपभोक्ताको चेतानस्तर र उपयोग क्षमतामा भर पर्ने कुरा हो। त्यसैले कृषिलाई पर निर्भरतामुखी नभई स्थानीय श्रोत साधन, क्षमता विज्ञता तथा ज्ञान सीपमा केन्द्रित गर्दै समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्दछ ।
अनुदान, लगानी र उत्पादनमा भएको समस्याको निमर्म विश्लेषण सुधार आवश्यक छ । कृषि भूमिको वर्गिकरण, किसानको पहिचान, वर्गिकरण र किसान परिचयपत्रको आधारमा सेवा सुविधाको व्यवस्थाको लागि स्थानीय सरकारलाई जिम्मेवार बनाउन सकेमा रुपान्तरणको सुरूवात, उत्पादकत्वको वृद्धि र धान दिवसको सन्दर्भिकता थप बलियो बन्छ ।
(लेखक राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष हुन्)
प्रतिक्रिया दिनुहोस्