धान दिवसमा लुम्बिनीका मुख्यमन्त्रीको सन्देश : खेतीमा लाग्ने लागत घटाउन खोजीरहेका छौँ


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२औँ राष्ट्रिय धान दिवस २०७२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै धान खेतीमा लाग्ने लागत घटाउनेतर्फ प्रदेश सरकार क्रियाशील रहेको बताएका छन् ।

२०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गराउँदै मुख्यमन्त्री आचार्यले यस दिवसले कृषिको महत्त्व जनमानसमा गहिरो रूपमा स्थापित गरेको उल्लेख गरे ।

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित मनाइँदै गरिएको यस वर्षको धान दिवस हालको सन्दर्भमा अत्यन्त सान्दर्भिक र प्रेरणादायी रहेको मुख्यमन्त्रीले बताएका छन् ।

उनले नेपालको संविधानले नागरिकलाई खाद्य अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै खाद्य सुरक्षाको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि सुदृढ नीति, व्यवहारिक कार्यक्रम र समर्पित कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरे ।

शुभकामना सन्देशमा उन्नत बीउ, रासायनिक मलको समयमै आपूर्ति, खेतीमा यान्त्रीकरण र दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिइएको छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको तराई क्षेत्रलाई देशको अन्नको भण्डारको रूपमा चिनिँदै आएको बताउँदै यहाँको खेतियोग्य जमिनको संरक्षण, बाँझो जमिनमा खेती प्रवर्द्धन तथा आयात घटाउँदै निर्यात बढाउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

उनले भने, “खेतीमा बढ्दो लागत, मलको अभाव, यान्त्रीकरणको आवश्यकता लगायतका समस्या समाधानमा सरकार निरन्तर क्रियाशील छ ।”

मुख्यमन्त्री आचार्यले जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि, आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कार विकास गर्न राष्ट्रिय धान दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गरेका छन्।