शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थाल्योः प्रमुख सचेतक घिमिरे


काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको भन्दै आपत्ति जनाए ।

संसदीय सुनुवाई समितिको आइतबार बैठकमा बोल्दै उनले एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको बताए । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गर्ने र कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको बताए ।

उनले न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भएको बताउँदै एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने जिकिर गरे ।

उनले भने, ‘न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भयो । एउटा मुद्दा सर्वोच्चसम्म गएर फैसला हुँदा १५ देखि २० वर्षसम्म लाग्छ । २० वर्ष नै लाग्ने स्थिति हुँदा मान्छेले न्याय कसरी पाउँछ । यसलाई कसरी छिटो छरितो गर्ने । जिल्ला अदालतमा एक प्रकारको समयसीमा तोकिएको छ । तर सबैभन्दा धेरै बेथिति भनेको सर्वोच्चमा छ । सर्वोच्चमा गएर वर्षौंसम्म एउटा मुद्दा गएर अड्किन्छ ? त्यसलाई कसरी हटाउने ? शक्ति पृथकीकरणको सिद्धान्त आजकाल उल्लंघन हुन थालेको छ । एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको छ । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको छ ।’

प्रमुख सचेतक घिमिरेले संसदमा बोलेका कुराहरुको बारेमा कतै मुद्दा गर्न पनि नपाइने र कारबाही पनि नहुने स्थिति रहेको बताए