काठमाडौं । नेपाल धान चामलमा पनि परर्निभर छ । पर्याप्त उत्पादन नहुँदा विदेशबाट धान चामल आयात गरेर नेपालको माग धान्नुपर्ने अवस्था देखिएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाअनुसार मुलुकको लागि आवश्यक पर्ने करिव ७९ लाख मेट्रिक टन धानमध्ये करिव १० लाख मेट्रिक टन धान उत्पादन अपुग छ ।
फलस्वरुप, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म करिव धान, धानको बीउ, चामलर कनिका गरी कुल ७ लाख ५३ हजार मेट्रिक टन धान जन्य वस्तु आयात भएको छ । यी वस्तु आयातमा करिव ३८ अर्व ९४ करोड रुपैयाँ विदेशिएको छ ।
मन्त्रालयकाअनुसार विशेषगरि चालममा बढी निर्भरता, सोमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा वासनादार चामलमा उपभोक्ताको बढी रोजाइ, छिमेकी मुलुकले धान निर्यातले लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि धानरचामलको आयात अपेक्षाकृत कम हुन सकेको छैन् ।
कुनै समय नेपालले धान र चामल निर्यात गर्ने नेपाल परनिर्भर बन्दै गएको छ । नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गरेको थियो । नेपालमा उत्पादित धान र चामल आन्तरिक उपभोगमा बढी भएका कारण निर्यात हुन्थ्यो । खासगरी दक्षिण कोरियालाई समेत नेपालको चामल तथा धान निर्यात हुन्थ्यो ।
सोही कारण नेपाललाई कृषि प्रधान देशको रुपमा समेत चित्रण गरिएको थियो । अहिले धान चामलमा देखिएको परनिर्भरता हटाउन सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । तैपनी परनिर्भरता हटाउने कार्यक्रम बजेटमा राख्न भने छाडिएको छैन ।
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा पनि मुलुकलाइ आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउने विषय उल्लेख छ ।
आगामी वर्षहरुमा धानको उत्पादन र उत्पादकत्व वृद्धिको लागि मन्त्रालयले प्राथमिकताका साथ विशेषगरी चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धिका कार्यक्रमहरु तीनै तहका सरकारमार्फत सञ्चालनको व्यवस्था गर्ने लक्ष्य छ ।
मलखाद, गुणस्तरीय बीउ र अनुसन्धानबाट प्राप्त नविनतम प्रविधिहरु किसान माझ पु¥याउन कार्यक्रमहरु केन्द्रित कृषि मन्त्रालयका अधिकारीहरुको भनाइ रहेको छ ।
परनिर्भरता नहटेपनि पछिल्लो समय धान उत्पादन भने केही बढेको सरकारी तथ्यले देखाउँछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाअनुसार चालु आवमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । यो उत्पादन गत वर्षको तुलना ४ दशमलव ४ प्रतिशतले बढी हो ।
मन्त्रालयकाअनुसार चालु आबमा मनसुन औषत भन्दा तीन दिन अगाडी सक्रिय हुन पुगेको र सो अबधिमा औषत बर्षा गत आ।ब।को सरदर भन्दा उच्च रहन जाँदा बर्षे धान बालीको लागि सहयोगी बन्न पुगेको छ । यसै गरी रासायनिक मल र उन्नत जातको धानको आयात गत बर्षको सोही अबधिको तुलनामा बृद्वि हुनु पनि धान उत्पादनकालागी प्रभाबकारी रहन गएको छ ।
धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन बढ्ने अनुमान गरिएको छ । वर्षे र चैते दुवै गरी चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान गरिएको छ । जुन गत आ।व।को तुलनामा १।२८ प्रतिशतले कमि हो ।
औषत उत्पादकत्व ४।१९ मेट्रिक टन प्रति हेक्टरमा पुगेको छ । यो हालसम्मको उच्च बिन्दु हो । सोही अवधिमा चैते धान र वर्षे धानको उत्पादन तथा उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा वृृद्धि हुन गएको छ ।
प्रदेशगत रुपमा कोशी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा कुल धान उत्पादनमा वृद्धि भएको छ भने बाँकी तीन प्रदेशहरुका उत्पादन वृद्धि नकरात्मक रहन गयो । जिल्लागत हेर्ने हो भने रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कमि रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको छ ।
यसै गरी नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखापरी उत्पादनमा कमी आउँदा र लमजुङ्ग जिल्लामा धान बाली लगाईएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्राइएको क्षेत्रफलमा कमि आई उत्पादनमा कमि हुन आएको छ ।
प्रतिक्रिया दिनुहोस्