काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानविनको लागि संसदीय समिति नै बन्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण आजको विषयमात्रै नभएकाे उल्लेख गर्दै जरोदेखि टुप्पोसम्मका सबैको छानविन गर्नुपर्ने बताएका हुन्।
उनले यस मुद्दालाई कुनै दल विशेषको एजेण्डा नबनाएर सबैले साझा एजेण्डाको रुपमा अगाडि लैजानुपर्ने बताए । भिजिट भिसा प्रकरणको विषयमा भइरहेको आरोप प्रत्यारोपलाई आम नागरिकले गम्भिर रुपमा हेरिरहेको उल्लेख गर्दै सच्चिन जरुरी रहेको उनकाे भनाइ छ ।
उनले भने, “अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसदमा त एकअर्काप्रति आरोपप्रत्यारोप गरौँला तर नेपाली जनताले चाँही के भन्छन् ? आज दुवई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदिबहिनीहरुलाई बन्धक बनाइएको छ । ७५ हजारभन्दा धेरैलाई आज दुवईमा बन्धक बनाइएको छ । आज हामीले उनीहरुको चित्कार सुन्नुपर्छ कि पर्दैन ? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानविन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री जो भएपनि कारबारही गर्नुपर्छ कि पर्दैन । त्यसकारण सबै एकठाउँमा उभिएर भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाऔँ ।”
उनले सरकारले संसदमा संख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्