काठमाडाैँ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि करविरुण चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
संघले आइतवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष केशवबहादुर सुनारले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै चरणवद्ध आन्दोलनमा जानुपरेको बताए ।
उनले अगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गरगहनामा लगाइएको विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज नगर्नेसम्म आन्दोलन नछोड्ने चेतावनी दिए ।
उनले सुनचाँदीका गरगहनामा अनावश्यक कर लगाउँदा साना व्यवसायी तथा उपभोक्ता मारमा पर्नेतार्फ सरकारको ध्यानाकर्षण गराए । उनले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोबारको लागि प्रष्ट नियमावली बनाउन समेत माग गरे ।
सरकारले अन्तर्राष्ट्रिय प्रवृत्तिअनुसार विलासिता वस्तुमा कर लगाउने नीति लिएको भए पनि व्यवसायीहरू त्यसलाई अव्यवहारिक भन्दै हटाउन माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्