असार १५ सम्म देशभर २० प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा सबैभन्दा धेरै


काठमाडौँ । आज (असार १५ गते) सम्म देशभर करिब २० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर कुल १३ लाख ९१ हजार ३२१ हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये २ लाख ८१ हजार ८०४ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो। यो कुल क्षेत्रफलको २०.३ प्रतिशत हो।

गत वर्ष असार १६ गतेसम्ममा २१.३ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको थियो।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको छ। त्यहाँको कुल १ लाख ७६ हजार १५१ हेक्टर क्षेत्रमध्ये ८६ हजार ६०१ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन ४९ प्रतिशत हो।

कर्णाली प्रदेशमा ४० हजार ८८४ हेक्टरमध्ये १६ हजार २ हेक्टरमा रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ८८९ हेक्टर क्षेत्रफलमध्ये ७३ हजार ७२१ हेक्टरमा धान रोपिएको छ, जसले २४.३ प्रतिशत रोपाइँ प्रतिबिम्बित गर्छ।

गण्डकी प्रदेशमा कुल ९४ हजार १८२ हेक्टर क्षेत्रफलमध्ये २६ हजार ५६२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन २८.२ प्रतिशत हो। त्यस्तै बागमती प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टर क्षेत्रफलमध्ये २४ हजार ७४३ हेक्टरमा रोपाइँ भएको छ, जुन २०.५ प्रतिशत हो।

कोशी प्रदेशमा २ लाख ७६ हजार ३८७ हेक्टरमध्ये ३९ हजार ३९० हेक्टरमा मात्रै रोपाइँ भएको छ, जुन १४.३ प्रतिशत मात्र हो। सबैभन्दा कम रोपाइँ भएको प्रदेश मधेस हो, जहाँ कुल ३ लाख ८० हजार २८३ हेक्टर क्षेत्रमध्ये १४ हजार ७८५ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ, जुन जम्मा ३.९ प्रतिशत हो।