गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा वर्षा हुने


काठमाडौँ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ र देशभर साधारणतया बदली रहनेछ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राती पनि देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।