काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदलाई जनताको हितमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने प्रभावकारी संस्थाको रूपमा विकास गर्नुपर्ने बताएका छन्।
संसद दिवस–२०८२ को अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद केवल बहस, भाषण र नारावाजी गर्ने मञ्च बन्न नहुने स्पष्ट पारेका हन्। “संसद भाषण र नारावाजी गर्ने ठाउँ होइन,” उनले भने, “यो निर्णय गर्ने, कार्यान्वयन गर्ने र परिणाम दिने मञ्चको रूपमा अगाडि बढ्नुपर्छ।”
उनले पछिल्लो समय गणतन्त्रप्रति जनताको वितृष्णा बढाउने प्रयास भइरहेको भन्दै त्यस्ता कोशिषलाई संसदमार्फतै विफल पार्न जरुरी रहेको उल्लेख गरे। “गणतन्त्रप्रति वितृष्णा फैलाउने प्रयासहरूलाई असफल बनाउन संसदको महत्वपूर्ण भूमिका हुन्छ,” उनले भने, “त्यसका लागि संसदप्रति जनताको विश्वास कायम गर्नेगरी काम गर्नुपर्छ।”
सभामुख घिमिरेले पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान बहुआयामिक चुनौतीहरूसँग जुध्न सकिने बताए।
संसदको प्रभावकारितामाथि उठ्ने प्रश्नहरू केवल व्यक्तिहरूमा सीमित नरहने र ती संसदीय व्यवस्था तथा प्रणालीमै लक्षित हुने भएकाले यसलाई बचाउन सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए। संसदलाई अझ प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता पनि रहेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्