आफ्नो क्षेत्रमा दुई–चार करोड बजेट लैजाने कार्यमा मात्र सांसदको भुमिका सिमित हुनु हुँदैनः अध्यक्ष दाहाल


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रमा दुई–चार करोड रुपैयाँ बजेट लैजानमा सीमित हुनु नहुने स्पष्ट पारेका छन्।

संसद दिवस २०८२ को अवसरमा सोमवार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले संसदलाई जनताको पक्षमा परिणाममुखी र प्रभावकारी बनाउन सांसद र सरकार दुवै गम्भीर हुनुपर्नेमा जोड दिएका हुन्।

उनले भने, “जनतासँग गरेका वाचा, नेपालको वर्तमान राजनीतिक परिस्थिति, देशको सिंगो अर्थतन्त्र र नेपाली जनताको जिविकाको सवालमा हामी कति गम्भीर र संवेदनशील छौँ भन्ने कुरामा सांसदले आत्मसमीक्षा गर्नुपर्छ।”

सांसदहरू संसदमा जनताको समस्याका बारेमा आवाज उठाएपछि मन्त्रीहरूले जवाफ दिने तर कार्यान्वयनमा ढिलासुस्ती देखिने प्रवृत्तिले संसदको प्रभावकारितामा प्रश्न उठ्ने गरेको अध्यक्ष दाहालको भनाइ थियो। उनले संसदलाई बहस, नाराबाजी र भाषणको मञ्च मात्र नबनाई निर्णय कार्यान्वयनमा सांसदहरूले प्रत्यक्ष निगरानी र दबाब दिने भूमिका लिनुपर्ने बताए।

“सम्बन्धित मन्त्रीले संसदमा जवाफ दिन्छन्, तर कार्यान्वयनमा गम्भीरता देखिँदैन। यस्तो ढिलासुस्ती र उदासिनताले संसदको गरिमा घटाउँछ,” अध्यक्ष दाहालले भने, “जनताको आवाज संसदमा उठाउनु मात्र होइन, त्यसको फल प्राप्त हुने वातावरण बनाउन सांसदहरू आफैं सक्रिय हुन जरुरी छ।”

अध्यक्ष दाहालले संसदको प्रभावकारिता बढाउन सबै पक्षले गम्भीर भएर भूमिका खोज्नुपर्नेमा जोड दिएका थिए।