सुनचाँदी व्यवसायीहरूले आज पनि गरे राजधानीमा प्रदर्शन


काठमाडाैँ । सुनचाँदी व्यवसायीहरूले राजधानीमा प्रदर्शन गरेका छन् । 

नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौँ सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरे । व्यवसायीहरुका अनुसार सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली ल्याउन उनीहरुले माग गरेका छन् ।

प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाए ।

प्रदर्शनका क्रममा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले सुनचाँदी महँगो भइरहेको बेलामा सरकारले विलाशिलता कर लगाउनु अव्यवहारिक भएको बताए । उनले विलासिलता कर र रत्न आभुषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

देशभित्रै हजारौँलाई रोजगारी दिइरहेको क्षेत्रलाई सरकारले डुबाउने नियतले कर नीति लिएको आरोप समेत उनले लगाए । उनकाअनुसार सरकारले सुनचाँदीमा विलाशिलता कर धेरै लगाइँदा ग्राहकलाई समेत ठूलो मार पर्नेछ ।

सुनमा २ प्रतिशत र हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाइनु गलत हो ।  नेपाल र बाहिरी मुलुकमा तोलामा २०/२५ हजार नै सुनको भाउमा फरक छ । त्यो फरक पारिनु सरकारको कमजोरी हो । सरकारले मुलुक बाहिर र मुलुक भित्र सुनको भाउ समान बनाउन लाग्नुपर्छ ।