उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन व्यवसायी मनोनीत


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायीहरू मनोनीत भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठलाई कार्यकारिणी समितिमा मनोनीत गरेका हुन्।

महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० बमोजिम उनीहरूलाई मनोनीत गरिएको हो। मनोनीत हुनेहरू व्यवसाय र संघसंस्थाको नेतृत्वमा अनुभव प्राप्त व्यक्तित्वहरू हुन्।

राजकुमार न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रहेका छन् छन्। त्यस्तै कमल कुमार श्रेष्ठ पनि महासंघका पूर्व कार्यकारिणी सदस्य तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। सरस्वती राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघकी अध्यक्ष तथा महासंघको महिला उद्यमी विकास समितिकी उपसभापति हुन्।

महासंघद्वारा जारी विज्ञप्तिमा अध्यक्ष ढकालले मनोनीत सदस्यहरूबाट महासंघको गतिविधिलाई अझ प्रभावकारी बनाउन योगदान प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।