बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने अनुमान, सेवा क्षेत्रको योगदान धेरै


काठमाडौँ । बागमती प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८१/८२ मा ५.२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाको कृषि, उद्योग, सेवा, पूर्वाधार र रोजगारी क्षेत्रको विस्तृत विश्लेषण गरिएको छ।

प्रतिवेदनअनुसार समग्र नेपालको उपभोक्ता मूल्यमा आधारित आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको ३.७ प्रतिशत संशोधित वृद्धिदरभन्दा बढी हो। बागमती प्रदेशको कूल गार्हस्थ उत्पादन प्रचलित मूल्यमा २२ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यस आधारमा बागमती प्रदेशको राष्ट्रिय अर्थतन्त्रमा योगदान ३६.५२ प्रतिशत रहेको छ।

बागमती प्रदेशको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ७७.०१ प्रतिशत रहेको छ। कृषि क्षेत्रको योगदान ११.८ प्रतिशत तथा उद्योग क्षेत्रको योगदान ११.१ प्रतिशत रहेको छ।

कृषिक्षेत्रमा खाद्य बाली लगाइएको क्षेत्रफल ५.३ प्रतिशतले घटेको र उत्पादन ४.३ प्रतिशतले घटेको उल्लेख गरिएको छ। धान, मकै, कोदो, गहुँ र जौको उत्पादनमा गिरावट आएको भए पनि फापर र तरकारीको उत्पादन क्रमशः ४.४ र २१.८ प्रतिशतले बढेको छ। पशुजन्य उत्पादनतर्फ दूध, मासु र अण्डा उत्पादनमा क्रमशः २.२, ३.१ र ०.४ प्रतिशतको वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूबाट कृषिमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेर १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ, जसमा काठमाडौँ जिल्लाको हिस्सा झण्डै ४८.५६ प्रतिशत रहेको छ। उद्योग क्षेत्रमा औसत उत्पादन क्षमता उपयोग ३३.८ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ४१ प्रतिशतभन्दा कम हो।

जलविद्युत उद्योगले सबैभन्दा बढी ९९.९ प्रतिशत उत्पादन क्षमता उपयोग गरेको छ भने औषधि उत्पादन (ओइन्टमेन्ट) गर्ने उद्योगमा यो मात्र ७ प्रतिशत रहेको छ। बियर, हल्का पेय पदार्थ, विद्युत, पशु दाना र चुरोट उद्योगको उत्पादन भने बढेको छ।

उद्योग क्षेत्रमा प्रवाहित कर्जा ३६.६ प्रतिशतले बढेर ११ खर्ब ७९ अर्ब ६ कराेड रुपैयाँ पुगेको छ, जसमा काठमाडौँको हिस्सा ९२.४ प्रतिशत रहेको देखिन्छ। सेवा क्षेत्रमा समेटिएका होटलहरूको औसत अकुपेन्सी रेट ५१.४ प्रतिशत रहेको छ।

घरजग्गा रजिस्ट्रेसन संख्या ६.८ प्रतिशतले घटेको भए पनि त्यसबाट प्राप्त राजस्व ८.८ प्रतिशतले बढेर ६ अर्ब १ करोड रुपैयाँ पुगेको छ। सेवा क्षेत्रमा प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेर १९ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। यसैबिच, प्रदेशमा संकलन भएको कूल निक्षेप ७.९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाहमा १९.३ प्रतिशतको वृद्धि देखिएको छ।

पूर्वाधार क्षेत्रमा पनि उल्लेखनीय प्रगति देखिएको छ। बुढीगण्डकी, सुनकोशी मरिन डाइभर्सन, काठमाडौँ–तराई मधेश द्रुतमार्ग, गल्छी–रसुवागढी सडकजस्ता राष्ट्रिय गौरवका आयोजनाहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्।

नागढुङ्गा–नौबिसे सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ। पुस मसान्तसम्म बागमती प्रदेशबाट वैदेशिक रोजगारीका लागि ६५ हजार ६१७ जनाले श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १३.५ प्रतिशतले बढी हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २२८ जनाले रोजगारी पाएका छन्।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित ६४ अर्ब ५३ करोड रुपैयाँ बजेटमध्ये २०८१ पुस मसान्तसम्ममा १० अर्ब ५० करोड रुपैयाँ मात्र खर्च गरेको छ। संघीय सरकारबाट ५ अर्ब ४६ करोड रुपैयाँ अनुदान प्राप्त भएको छ भने आफ्नै स्रोतबाट १ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ।