मुक्त कमैया शिविर वर्षेनी डुबानमा, बासिन्दाको पीडा बेवास्ता


काठमाडाैँ । कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको मुक्त कमैया शिविर यस वर्ष पनि डुबानमा परेको छ । असार १५ गते रातिदेखि लगातार परेको अविरल वर्षाका कारण बस्ती जलमग्न हुँदा बासिन्दाहरूको दैनिकी अस्तव्यस्त बनेको हो ।

डुबानका कारण घरभित्र पानी पसेको छ भने खानेपानी र सरसफाईको समस्या बढेको छ । बस्तीभर फोहोर पानी र हिलो जम्दा बालबालिकादेखि वृद्धवृद्धासम्म स्वास्थ्य जोखिममा परेका छन् । वर्षेनी डुबानमा पर्दै आएको शिविरमा सम्बन्धित निकायको ध्यान अझैसम्म नपुगेको बासिन्दाहरूले गुनासो गरेका छन् ।

हरेक वर्ष यस्तै हुन्छ । डुबान आउँछ, पानी पस्छ, तर कसैले नहेर्ने गरेको गुनासो स्थानीयको छ । समस्या समाधानका लागि पटक–पटक माग गरेपनि सुनुवाई नभएको स्थानिय बासिन्दा सिंहबहादुर चौधरीले बताए। घरमै पानी पस्दा खाना पकाउने, सुत्ने र बालबालिका राख्न समेत समस्या परेको उनको गुनासो छ । 

अर्का स्थानीय बासिन्दा खड्क चौधरीले  बस्तीको पूर्वाधार कमजोर भएकाले सामान्य वर्षामा समेत डुबानको समस्या उत्पन्न हुँदै आएको बताए । घरभित्र पानी पसेर समस्या भएको बताए ।

बजारको क्षेत्रमै भएको उक्त बस्ती नै प्रत्येक वर्ष डुबानमा पर्दै आएको स्थानियबासी दलबहादुर बोहराको दुखेसो छ । १–२ सय घरधुरी भएको उक्त बस्तीमा डुबानको समस्या समाधानका लागि अहिलेसम्म स्थानीय निकाय वा सम्बन्धित निकायबाट कुनै पहल नहुँदा बासिन्दा अझै थप पीडामा परेको उनको गुनासो छ । 

शिविर क्षेत्र भित्र पानी जमेर सरसफाई र स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । तत्काल राहत र दीर्घकालीन व्यवस्थापनको माग शिविर वासीहरूले गरेका छन् ।