काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को साउन १ गतेदेखि असार १५ गतेसम्मको अवधिमा देशभर ४ लाख ८ हजार ४ सय ९२.३ मेट्रिक टन अनुदानित रासायनिक मल बिक्री भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत युरिया, डीएपी र पोटास मल बिक्री भएको हो।
बिक्री भएको मलमध्ये सबैभन्दा धेरै युरिया मलको बिक्री भएको छ। कृषि सामग्री कम्पनीले १ लाख ८० हजार ४८६ मेट्रिक टन र साल्ट ट्रेडिङ्गले ६६ हजार ७७४.५ मेट्रिक टन युरिया बिक्री गरेका छन्। युरियाको कूल बिक्री २ लाख ४७ हजार २६०.५ मेट्रिक टन पुगेको छ।
त्यस्तै, डीएपी मल १ लाख ४५ हजार ६७०.२ मेट्रिक टन बिक्री भएको छ। जसमध्ये कृषि सामग्री कम्पनीको हिस्सा १ लाख २२ हजार ९३५.४ मेट्रिक टन रहेको छ भने साल्ट ट्रेडिङ्गले २२ हजार ७३४.७५ मेट्रिक टन बिक्री गरेको छ।
पोटास मलको बिक्री भने अन्य दुई मलको तुलनामा कम देखिएको छ। हालसम्म १५ हजार ५६१.७ मेट्रिक टन पोटास मल बिक्री भएको छ।
थप मल आयातको तयारी
मन्त्रालयका अनुसार आगामी दिनमा थप मल आपूर्ति गर्न विभिन्न चरणमा आयात प्रक्रियाहरू अगाडि बढाइएको छ।
हाल ३४ हजार मेट्रिक टन युरिया कोलकात्तामा आइपुगेको छ र नेपाल प्रवेशको क्रममा छ। त्यसैगरी ३० हजार मेट्रिक टन युरिया स्रोत मुलुकबाट लोडिङ्ग भई कोलकात्तामा आइपुगेको छ भने २२ हजार मेट्रिक टन युरिया अझै स्रोत मुलुकमै लोडिङ्ग भएर कोलकात्ता आउने तयारीमा छ।
यसबाहेक ३० हजार मेट्रिक टन डीएपी मल स्रोत मुलुकबाट सिपमेन्ट भई असार २५ भित्र कोलकात्ता आइपुग्ने जानकारी मन्त्रालयले दिएको छ।
हाल मलको मौज्दात अवस्था पनि उल्लेखनीय देखिएको छ। युरिया, डीएपी र पोटास गरी हालसम्म ७४ हजार ६१२. ७ मेट्रिक टन मलको मौज्दात रहेको छ।
यस वर्ष सरकारको वार्षिक मल आपूर्ति लक्ष्य ५ लाख ५० हजार मेट्रिक टन रहेको थियो । कुल २७ अर्ब ९५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएकोमा हालसम्म सोही परिमाणको मल आपूर्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयको दाबी छ।
प्रतिक्रिया दिनुहोस्