काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संघीय निजामति ऐनमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेलमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।
सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कानून सच्याएर मात्रै पठाउने नभइ यस कार्यको छानविन हुनुपर्ने माग गरेका हुन् । उनले संघीय निजामति ऐनमा रहेको कुलिङ पिरियडबारे समितिले पास गरेको विषय भन्दा बाहिर गएको बताए ।
समिति सभापति रामहरि खतिवडाले आफूलाई जानकारी नरहेको बताएकाे र समिति सचिवले स्वभाविक रूपमा लेखिएको बताएको जानकारी दिए ।
संसदको उपहास गर्नेगरी र सार्वभौम अधिकारमाथि षड्यन्त्र र बद्मासी गरिएको बताए। यो कार्य तुच्छ भएकाले यसको छानविन हुनुपर्ने बताए । यस किसिमको छलछाम गरेर ऐनमै हेराफेरी हुने अवस्था आए देशमा जनताले कसलाई विश्वास गर्ने ? भन्दै प्रश्न गरे ।
उनले कुलिङ पिरियडबारे भएको सम्झौता भन्दा फरक तरिकाले ऐन जानु गम्भीर विषय भएको बताए । सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो ।
यो प्रवन्धले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन । सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो ।
समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ ।
प्रतिक्रिया दिनुहोस्