मुलुकमा शान्ती सुरक्षा, सुशासन र विधिको शासन कायम गर्न सरकार प्रतिवद्धः गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय पूर्णरूपमा प्रतिवद्ध रहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कानूनको कार्यान्वयन, सुशासन र विधिको शासनलाई प्रभावकारी बनाउन गृह मन्त्रालय मातहतका निकायहरु सक्रिय रहेको बताए ।

उनले सबै सुरक्षा निकाय न्युनतम स्रोत साधनमा सीमित भए पनि अपराध नियन्त्रण, अनुसन्धान तथा अभियोजनका कार्यमा दत्तचित्त भएर लागिरहेको बताए ।

उनले भने, ‘मुलुकमा शान्ती सुरक्षा कायम गर्ने, विधिको शासन स्थापित गर्ने, सुशासनको सुनिश्चितता गर्ने र संविधान र कानूनको कार्यान्वयन गर्ने गृह मन्त्रालयको दायित्व हो । मुलुकमा रहेका सबै सुरक्षा निकायहरु मुलुकमा शान्ती सुरक्षा कायम गर्नका लागि, अपराध नियन्त्रण गर्नका लागि, अनुन्धान र अभियोजनमा सहयोग गर्नका लागि र कानूनको कार्यान्वयनका निमित्त दत्तचित्त भएर काम गरिराखेका छन् ।

दुवै सुरक्षा निकायले न्यूनतम स्रोत र साधनमा काम गरिरहेको बताउँदै गृहमन्त्री लेखकले आर्थिक वर्षका लागि बजेटमा दुवै सुरक्षा निकायको पूर्वाधार विकासका ४० करोड रुपैयाँ विनियोजन गरिएको बताए । संघ, प्रदेश र स्थानीय तहको आपसी सहकार्यमा सुरक्षा निकायका भौतिक पूर्वाधार विकास गर्न साझेदारीमा काम गर्ने योजना अघि बढाएको लेखकको भनाई छ ।

उनले प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकहरु छलफलका क्रममा रहेको उल्लेख गर्दै ती विधेयकहरु पास भइसकेपछि सुरक्षा निकायहरुलाई थप व्यवस्थित गर्न सकिने विश्वास समेत व्यक्त गरे ।