दलित, वादी र पछाडि परेका वर्गको समावेशी विकासका लागि छुट्टै विकास प्राधिकरण गठन गर्ने तयारीमा सरकार


काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दलित, वादी र पछाडि परेका वर्गको समावेशी विकासका लागि सरकारले छुट्टै विकास प्राधिकरण गठन गर्ने तयारी गरेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले यस्तो बताएका हुन् । उनले सम्बद्ध कानून र प्राधिकरण निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनले राज्यका निकायहरुमा समावेशी तथा समानुपाति प्रतिनिधित्व सुनिश्चित गर्न सरकार गम्भीर रहेको समेत स्पष्ट पारे ।

“पछिल्लो सरकारले दलित, वादी र पिछिडिएका वर्गलाई समेटेर एउटा विकास प्राधिकरण बनाउने कुरा गरेको थियो । त्यसका लागि दलितसम्बन्धी कानून र प्राधिकरण बनाउने विषय हाम्रो मन्त्रालयले रायको लागि कानून मन्त्रालयमा पठाएको छ । अब छिट्टै कानून मन्त्रालयबाट त्यो हाम्रो मन्त्रालयमा आउँछ । त्यसपछि हामी कानून र आयोग बनाउने छौँ,” उनले भने ।

उनले संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य र समन्वयमा विकास निर्माणका कामहरू अगाडि बढाइने तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने समेत जिकिर गरे ।