काठमाडौँ । राजधानीमा प्रशोधित पिउने पानी वितरण गर्ने सवारी साधनको अनुगमनका क्रममा मापदण्डविपरीतका ४४ ओटा पानीका जार जफत गरिएको छ ।
काठमाडौँ महानगरपालिका अन्तर्गतको कृषि तथा पशुपन्छी विभागले आज गोङ्गबु बसपार्क क्षेत्रमा अनुगमन गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार प्रयोग गरिएको भेटिएको हो । अनुगमनमा २८ ओटा पानी ढुवानी गर्ने सवारी साधन संलग्न थिए ।
अनुगमनका क्रममा जफत गरिएका जार महानगर प्रहरी बलमार्फत नष्ट गरिने भएको छ । साथै, पानी ढुवानी गर्ने सवारी साधनमा विभिन्न कम्पनीका जार फेला परे पनि तीमध्ये केहीले प्रशोधन मापदण्ड पूरा नगरेको पाइएकाे महानगरले जनाएकाे छ ।
महानगरपालिकाले मापदण्डविपरीत जार प्रयोग नगर्न, प्रत्येक जारमा स्पष्ट विवरणसहितको लेबल टाँस्न र ढुवानीका क्रममा अनिवार्य रूपमा बिलरबिजक सँगै राख्न सम्बन्धित कम्पनीहरुलाई निर्देशन दिएको छ ।
महानगरले बर्खाको समयमा पानीजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै आजदेखि प्रशोधित पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीको नियमित अनुगमन सुरू गरेको जानकारी दिएको छ । जनस्वास्थ्यमा नकारात्मक असर पर्न नदिन अत्यन्त संवेदनशील बन्नुपर्ने महानगरको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्