काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय नेताहरूले सरकार प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको काँग्रेसको केन्द्रिय समिति बैठकमा बोल्ने अधिकांश नेताहरूले सरकार सात बुँदे सहमतिअनुसार अघि बढ्न नसकेको र प्रभावकारितामा कमी देखिएको टिप्पणी गरेका हुन्।
बैठकमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले सत्ता गठबन्धनमा काँग्रेसको पहिचान नै कमजोर भएको धारणा राख्दै यथास्थितिबाट पार्टीले गति लिन नसक्ने बताए। उनले काँग्रेसलाई नेताप्रधान नभई नीतिप्रधान बनाउनु पर्नेमा जोड दिए। “सत्ता गठबन्धनभित्र काँग्रेसको पहिचान कम देखिएको छ। यस्तो अवस्थाबाट काँग्रेसले गति लिन सक्दैन,” उनले भने, “पार्टी नेताप्रधान होइन, नीतिप्रधान हुनुपर्छ।”
यस्तै, प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्र र प्रदेश दुबै तहमा बजेटको प्रक्रियामा समस्या देखिएको उल्लेख गर्दै सरकारले थप मेहनतका साथ प्रभावकारी काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले सरकारले गरिरहेका कमजोरीहरूप्रति पार्टीले गम्भीर चासो राखेर छलफल गर्नुपर्नेमा पनि जोड दिए।
काँग्रेस उपसभापति धनराज गुरुङले सरकारका कामबारे टिकाटिप्पणी हुनु स्वाभाविक भएको बताए। उनले सरकारको कामप्रति आफ्नै गठबन्धनभित्रबाट धारणा आउनु सामान्य भएको जनाउँदै, त्यसलाई लिएर सरकार परिवर्तन नै नहुने बताए ।
केन्द्रिय सदस्य नारायणप्रकाश साउदले सात बुँदे सहमति सरकार गठनको आधार भएकाले त्यसैलाई मार्गदर्शक बनाएर सरकार चल्नुपर्ने धारणा राखे। “सात बुँदेमा संविधान संशोधन, सुशासन, भ्रष्टाचार निवारण लगायतका महत्त्वपूर्ण मुद्दा छन्। त्यसमा सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्छ,” उनले भने।
केन्द्रिय सदस्य राजन केसीले संविधान संशोधनको विषयमा गृहकार्य भइरहेको जानकारी दिँदै सरकारका कमी कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नभएको बताए। “लोकतन्त्रमा पहिलो र दोस्रो ठूला पार्टी मिलेर स्थिर सरकार दिने अभ्यास हुँदै आएको हो। स्थिर सरकारले नै मुलुकको विकासलाई गति दिन्छ,” उनले भने।
बैठकमा सहभागी नेताहरूले सरकारलाई परिणाममुखी र प्रभावकारी बनाउने गरी काँग्रेसले नीति र कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्