राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई प्राथमिकता दिएको छु : मन्त्री दाहाल


काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई प्राथमिकता दिइएको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सम्पन्न गर्न २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

जुन गत वर्षको तुलनामा २ अर्ब रुपैयाँले बढी हो । मन्त्री दाहालले गत वर्षको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोका कारण पूर्वाधार क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै त्यसको पुर्ननिर्माणको लागि १९ अर्ब स्रोत सहमति पाएको समेत बताए।

उनले भने, ‘हाम्रो बजेटको विनियोजन राष्ट्रिय राजमार्गहरु , राष्ट्रिय गौरवका आयोजनाहरु , राष्ट्रिय महत्वका आयोजनाहरु, रणनीतिक महत्वका आयोजनाहरु र अहिले निर्वाचन रणनीतिक सडकहरुलाई पनि प्राथमिकताका साथ समानुपातिक ढंगले सबै निर्वाचन क्षेत्रमा विनियोजन गरेको हुँदा यसलाई पनि राखेको छु । हामीले फास्ट ट्र्याकमा २४ अर्ब ४९ करोड ४७ लाख रकम विनियोजन गरिएको छ ।’

बजेट अर्थमन्त्रालयमार्फत विनियोजन भएको भएपनि सिलिङ चाँही भौतिक पूर्वाधार मन्त्रालयबाटै हुने हुँदा वर्ष फास्ट ट्र्याकमा गतवर्षभन्दा २ अर्ब बढी बजेट विनियोजन गरीएको मन्त्री दाहालको भनाई छ ।

गत वर्षको अविरल वर्षाले पुर्वाधारहरुमा ठुलो क्षति पुर्याएको हुँदा १९ अर्ब स्रोत सहमति दिएको बताए। बजेट विनियोजनको परम्परागत शैलीमा परिवर्तन गर्न नसकिएकोमा आफूलाई दुःख लागेको समेत मन्त्री दाहालको भनाइ छ ।