कानून बनाउँदा राष्ट्रको समृद्धिलाई केन्द्रभागमा राख्न मन्त्री दाहालको जोड


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कुनै पनि कानून निर्माण र संशोधन गर्दा राष्ट्रको समृद्धिलाई केन्द्रभागमा राखेर बनाउनु पर्ने बताएका छन् ।

समग्र राष्ट्रको समृद्धि हुँदा सबै क्षेत्र र विषयहरूको समृद्धि सम्भव हुने भएकाले त्यस तर्फ ध्यान दिनु पर्ने उनको भनाइ छ । निर्माण व्यवसाय ऐन २०५५ संशोधन सम्वन्धि मन्त्रालयले बुधबार आयोजना गरेको अन्तरक्रियामा उनले कानून निर्माण र संशोधनमा सम्वद्ध सरोकारवालाहरूको भुमिका पनि महत्वपूर्ण हुने बताए ।

कानूनमा भएका कतिपय अव्यवहारीक पक्षहरू हटाउन जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले कानूनले सवै पक्षलाई उत्तरदायी र जवाफदेही बनाउन भने आवश्यक हुनेमा जोड दिए ।

पूर्वाधार निर्माण क्षेत्रमा राज्यका पक्षबाट पनि कतिपय कमजोरी हुन सकेको उल्लेख गर्दै उनले आयोजनाहरू वर्षौ सम्म अलपत्र हुने, सम्झौता मिति पटक पटक थप गर्नु पर्ने, अर्बाैका केहि संरचना बने पनि उपयोग हुन नसक्ने जस्ता समस्या समाधानका लागि गम्भिर समिक्षा गर्ने बेला आएको समेत मन्त्री दाहालले बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशककुमार शर्माले संविधान र संघीयताको मर्म अनुरुप कानूनहरू संशोधन गर्न मन्त्रालयले प्राथमिकता दिएको बताए । यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलाले कानुन निर्माण र संशोधन गर्दा एक अर्को कानूनबिच बाझिने प्रावधानहरु राख्न नहुनेमा जोड दिए ।